
काठमाडौं । बिहीबार धादिङको रोराङ गाउँपालिका–३ स्थित बेनिघाटको झोलुङ्गे पुलबाट त्रिशुली नदीमा हाम्फालेका विनय लामिछानेको घरबाट प्रहरीले सुसाइड नोट फेला पारेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले विनयको घरबाट सुसाइड नोट फेला परेको पुष्टि गरे ।
नेपाल धितोपत्र बोर्डले अनुमति नै नदिएको कमोडिटी मार्केटको लागि भन्दै विनय आफन्तहरूसँग ठुलो रकम लिएको र कारेबारमा सफलता नमिलेपछि ऋण तिर्न नसकिने ठहर गर्दै घरमा सुसाइड नोट छोडेर हिँडेको देखिएको छ । उनले घरमा छोडेको सुसाइड नोटमा लेखिएको छ– ‘कमोडिटी व्यापारमा डुबेको पैसा तिरेर सकिँदैन, अब बाँच्नु को अर्थ रहेन ।’ प्रहरीका अनुसार सुसाइड नोटमा विनयले कसैलाई पनि आरोप लगाएका छैनन् ।
पुस २९ गते विनयको आफन्त बितेका थिए । घरमा झुठ्ठो परेको हुनाले छोराछोरीलाई बाहिर केही खुवाउँछु भन्दै विनय र जमूना दिउँसो २ बजे घरबाट निस्किए । घरबाट निस्किएका विनयले श्रीमतीलाई आदमघाटस्थित सुसराली जान आग्रह गरे ।
विनय परिवारसहित धादिङको गजुरी गाउँपालिकास्थित आदमघाट हिँडे । आदमघाट विनयको ससुराली गाउँ हो । तर, उनीहरु आदमघाट पार गरेर रोराङ गाउँपालिकास्थित बेनीघाट हुँदै गोरखाको घ्याल्चोक पुगे ।
घ्याल्चोकमा खाजा खाएर उनीहरु गाडी हिँड्ने पुलबाट नआएर बाँदरेस्थित झोलुङ्गे पुलबाट बेनीघाट आउँदै थिए । अचानक विनय परिवारसहित झोलुङ्गे पुलबाट हाम्फाल्छन् । घटना भएको स्थान बेनिघाटबाट गोरखा जाने त्रिशुली नदीको पुलको करिब एक किलोमिटर दूरीमा छ ।
बिहीबार साँझ काठमाडौँ चद्रागिरी घर भएका विनय लामिछाने र जमुना रेग्मी लामिछाने ६ महिना र २ वर्षका छोराहरु साथैमा लिएर त्रिशुली नदीमा हाम्फालेका हुन् ।
पुलबाट मान्छे हाम्फालेको देखेपछि स्थानीयहरु तत्कालै उद्दारको लागि खटिए । विनयलाई जीवितै उद्दार गर्न सफल हुन्छ । तर, श्रीमती जमूनाको भने मृत्यु हुन्छ । हालसम्म पनि दुई नाबालक छोराहरु वेपत्ता छन् । बेपत्ता बालकको खोजी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस