काठमाडौँ । गलत डिजाइनका कारण माथिल्लो डुगेश्वर हुँदै दैलेख बजार जोडिने लुवा खोलामा सडकमुनि पुल निर्माण भइरहेको छ। तीन वर्षअघि थालिएको पुलमा ‘फिनिसिङ’ को काम भइरहेको छ। निर्माणाधीन पुल देखेर आवतजावत गर्ने यात्रु अचम्मित हुने गरेका छन्।
ईआरएम्सी कन्सल्टेन्सीले पुलको डिजाइन गरेको हो । कम्पनीले काठमाडौंमै बसेर डिजाइन गर्दा सडकमुनि पुल बनेको स्थानीयको गुनासो छ । स्थानीयका अनुसार गलत डिजाइनकै कारण कर्णाली लोकमार्गका दर्जन पुल अलपत्र परेका छन्।
पुल बनेर सञ्चालन आए पनि वर्षायाममा समस्या पर्ने स्थानीय कमल केसीले बताए । ‘वर्षा लागे पानी पुलमाथि बग्ने निश्चित छ,’ उनले भने, ‘बाढीका कारण पुलभत्किने जोखिमसमेत उत्तिकै छ ।’
स्थानीय रामबहादुर मिजारले पुल निर्माणको लगानी खेर गएको बताए । ‘सडकसम्म पुर्याउन पुलमा तला थप्नुपर्ने देखियो,’ उनले भने, ‘पुलकै लागि सडक तल झार्न लागिएको छ।’ उनका अनुसार सडकलाई पुलसम्म पुर्याउन एक सातादेखि डोजरमार्फत काम भइरहेको छ।
पुलको काम रसुवारइलाइटरसूर्य जेभीले गरिरहेको छ। कम्पनीले सन् २०१७ मा निर्माणका लागि सम्झौता गरेको हो। लोकमार्गमा १५ पुल निर्माणको जिम्मा दिएको कम्पनीले गलत डिजाइनकै कारण अन्य पुल निर्माणमा पनि समस्या आएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस