aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

ऋणको बोझले नाबालकसहित त्रिशूलीमा

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शनिबार, ०४ माघ २०७६
ऋणको बोझले नाबालकसहित त्रिशूलीमा

काठमाडौं / धादिङ । काठमाडौं चन्द्रागिरी–४ थानकोटमा २० वर्षदेखि बस्दै आएका ३५ वर्षीय विनय लामिछाने केही दिनदेखि तनावमा थिए। स्थायी घर मकवानपुर चित्लाङ भएका विनयले शिक्षण पेसा छाडेर अनलाइनमार्फत व्यापार गर्दै आएका थिए। त्यसबाट नाफा नभएपछि ऋण थपियो। ऋणको बोझ थेग्न नसकेपछि उनले बिहीबार गलत बाटो रोजे। त्यही घटनामा उनले पत्नी जमुनालाई मात्रै गुमाएनन् , दुई नाबालक छोरा ६ र २२ महिनाका नदीमा बेपत्ता भए।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–४ बाँदरे घुम्तीनजिकै विनय र उनकी पत्नी जमुनाले एक÷एक छोरा च्यापेर त्रिशूलीमा हामफालेका थिए। त्यसलगत्तै स्थानीय रिसोर्ट र होटल सञ्चालकले विनयलाई जीवितै उद्धार गरे। जमुना मृत अवस्थामा भेटिएकी थिइन्। अन्दाजी २ सय मिटर तलसम्म बगेका दुवै बच्चा शुक्रबारसम्म पनि भेटिएका छैनन्। प्रहरीले शुक्रबार बिहानदेखि खोजी गरेको थियो। बिहीबार साँझदेखि वर्षा भइरहेको र नदी धमिलो रहेकाले उनीहरूको खोजीमा कठिनाइ भएको इलाका प्रहरी गजुरीले जनाएको छ।

लामिछाने दम्पतीको सानो छोरोको पास्नी शुक्रबारका लागि तय भएको थियो। चन्द्रागिरीस्थित घरमा सुतक परेको र शुक्रबारै उत्तम साइत रहेकाले जमुनाको माइतबाट पास्नी गर्ने तयारीका साथ उनीहरू बिहीबार धादिङ हिँडेका थिए। तर, आदमघाट बजार झर्नुपर्नेमा पौने घण्टाको दूरीमा रहेको बेनीघाटस्थित बाँदरे घुम्ती पुगेका थिए। ‘उनीहरू यहाँ आदमघाटमा नझरी सिधै उता पुगेछन्’, जमुनाका दाइ जगत रेग्मीले भने, ‘भान्जाको भात खुवाइको तयारीमा उनीहरूलाई पर्खिरहेका थियौं। अचानक दुःखको खबर सुन्नुपर्‍यो।’

नदी किनारमा छाडेको झोलामा बच्चालाई भात खुवाइमा लगाउने चाँदीको बालासमेत भेटिएको थियो। घुम्तीमा आइपुगेपछि झोलुंगे पुल तरेर गोरखा घ्याल्चोकबाट उनीहरू त्रिशूलीमा हेलिएका थिए। त्यसअघि घुम्तीको होटलमा घरबाटै बोकेको दूध तताएर बच्चालाई खुवाएपछि उनीहरू गोरखातर्फ लागेको होटल सञ्चालक वदनकुमारी श्रेष्ठले सुनाइन्।

आत्महत्याको तयारीसाथ उनीहरूले घर छाडेको खुलेको जिल्ला प्रहरी धादिङका प्रमुख रवीन्द्र रेग्मीले बताए। ‘थानकोटस्थित घरमा सिरानीमुनि रहेको सुसाइड नोट प्रहरीले बरामद गरेको छ’, उनले भने, ‘त्यसमा व्यवसाय गर्दा थुप्रै ऋण लागेको र ऋणको साँवाब्याज तिर्न नसकेर आत्महत्याको बाटो रोजेको उल्लेख छ।’

प्रतिक्रिया दिनुहोस