aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सुनसरी मोरङ औद्योगिक कोरिडोरमा मजदूर अभाव

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • सोमबार, ०६ माघ २०७६
सुनसरी मोरङ औद्योगिक कोरिडोरमा मजदूर अभाव

विराटनगर । युवा जनशक्ति स्थानीय उद्योगमा काम गर्नुभन्दा वैदेशिक रोजगारीमा आकर्षित हुन थालेपछि सुनसरी–मोरङ औद्योगिक कोरिडोरका करीब ५०० उद्योगलाई दक्ष र अदक्ष गरी १० हजार श्रमिकको अभाव रहेको छ । पछिल्लो समय वैदेशिक रोजगारमा युवा आकर्षण अझ बढ्दै गएपछि उद्योगलाई मजदूर अभाव गहिरिँदै गएको हो । पहिले उद्योगको गेटमा जागीर खोज्न युवाहरू दिनहुँ आउँथे तर अहिले उद्योग नै मजदूर खोज्न गाउँ पस्न थालेका छन् ।

विद्युत् आपूर्तिमा सुधार र मजदूर हडतालबाट मुक्त भएका उद्योगहरूलाई उत्पादनमूलक जनशक्ति वैदेशिक रोजगारीतर्फ आकर्षित हँुदा मजदूर अभाव नयाँ संकटका रूपमा देखापरेको छ । सानाठूला गरी ५०० उद्योग रहेको सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा अहिले प्रत्यक्ष रूपमा ५० हजार मजदूर कार्यरत छन् । यस कोरिडोरमा रहेका उद्योगलाई अहिले २० देखि २५ प्रतिशत थप श्रमिकको आवश्यकता रहेको यहाँका उद्यमीहरू बताउँछन् । 

दुहबी नगरपालिकाको सोनापुरमा रहेको अरिहन्त मल्टिफाइबर्समा प्रत्येक दिन २०० मजदूरको अभाव हुन्छ । भएका मजदूरमा पनि ‘वर्क कल्चर’ नहुँदा दैनिक ५ टन उत्पादन प्रभावित हुँदै आएको सो उद्योगका प्रमुख कार्यकारी अधिकृत गोविन्द बजगाईं बताउँछन् । उनका अनुसार पहिले उद्योगको गेटमा दैनिक २५ देखि ५० मजदूर काम खोज्दै आउँथे तर अहिले त्यो संख्या न्यून छ । ‘उल्टै उद्योगले गाउँसम्म सवारीसाधनको सुविधा दिएर मजदूर लिएर आउने र काम गरिसकेपछि पुर्‍याउने व्यवस्था गर्न थालेको छ, तैपनि मजदूरको अभाव भने टर्न सकेको छैन,’ बजगाईंले बताए ।

उद्योगमा स्थायी भएर काम गर्दै आएका मजदूर जागीर छाडेर वैदेशिक रोजगारीमा जाने क्रम केही कम भए पनि नरोकिएको बजगार्इं बताउँछन् । पहिले मासिक ५ जना स्थायीले जागीर छाड्थे भने अहिले दुई जनामा झरेको उनले बताए । अरिहन्तमा ४ हजार ६०० मजदूर कार्यरत छन् ।

पछिल्लो समय उद्योगले दिने पारिश्रमिक र मलेशियालगायत देशमा रोजगारी बन्द भएपछि उद्योगमा मजदूर आउने क्रममा सामान्य सुधार भएको उनले बताए । अहिले अरिहन्तमा २ हजार २०० महिला मजदूर तीनओटै सिप्mटमा काम गरिरहेका छन् । उद्योगले महिलाका लागि छुट्टै जोन बनाएर काम लगाइरहेको छ । 

सुनसरीकै खनारमा रहेको रिलायन्स स्पीनिङ मिलमा दैनिक ४ हजार मजदूर काम गर्छन् । तैपनि उद्योगलाई दक्ष जनशक्तिको अभाव रहेको यसका डेपुटी भाइस प्रेसिडेन्ट महेश पोखरेलको भनाइ छ । युवाहरू वैदेशिक रोजगारीमा जान थालेपछि महिला कामदारलाई उद्योगले प्रोत्साहन र सुरक्षा दिई काम लगाइरहेको उनले बताए । उनका अनुसार अहिले तीनओटै सिप्mटमा रिलायन्समा १ हजार ६०० महिला कामदार काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस