काञ्चनपुर । कालापानी क्षेत्रलाई सडक सञ्जालसँग जोड्न ब्रह्मदेवझुलाघाट दार्चुला टिङ्कर सडक निर्माणलाई तीव्रता दिइएको छ । कञ्चनपुरको ब्रह्मदेव बजारदेखि दार्चुलाको टिङ्करसम्म निर्माण गर्न लागिएको सो सडकको ट्र्याक खोल्ने काम तीव्र रूपमा भइरहेको सडक विभागले जनाएको छ ।
गृहमन्त्री रामबहादुर थापामगरले पुस १५ गते बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा कालापानीसम्म बाटो बनाउन सरकारले बजेट छुट्ट्याएको जानकारी दिएका थिए ।
सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले यो सडक निर्माणलाई सुदूरपश्चिमको ‘माइलस्टोन’ आयोजनाको रूपमा अगाडि बढाइएको बताए । उनले भने, ‘यो सडक निर्माण भइसकेपछि कञ्चनपुरको ब्रह्मदेवदेखि झुलाघाट, दार्चुला, र टिङ्कर हुँदै कालापानीसम्म पुग्न सहज हुने भएकाले उच्च प्राथमिकतामा राखी काम अगाडि बढाइएको छ ।’
कठिन भूगोल र कडा चट्टानका कारण निर्माण कार्य आशातीत अगाडि बढाउन कठिन भएको बताउँदै उनले विस्फोटक पदार्थको सहायताले काम अगाडि बढाउन नेपाली सेनासँग छलफल भइरहेको जानकारी दिए ।
टिङ्करपछि कालापानी आउँछ । कालापानीको खोँचमा अहिले भारतीय सेनाको क्याम्प छ । अहिले टिङ्कर भञ्ज्याङको दक्षिणपट्टि नेपाली बस्ती रहे पनि उत्तरतर्फ नेपाली बस्ती छैन । आयोजनाका लागि आर्थिक वर्ष २०७६÷७७ मा ३२ करोड ६८ करोड रुपियाँ विनियोजन गरिएको छ ।
दार्चुलाटिङ्कर सडक योजनाका प्रमुख अच्युतविलास पन्तले यो सडकमा १२५ किलोमिटर ट्र्याक खोल्ने काम भइसकेको जानकारी दिए ।
महाकाली कोरिडोरअन्तर्गत निर्माण भइरहेको डबल लेनको यो सडकको कञ्चनपुरदेखि टिङ्करसम्को दूरी ४२५ किलोमिटर छ ।
उनका अनुसार डडेल्धुरामा एघार किलोमिटर, दार्चुलामा ५२ र बैतडीमा ६२ किलोमिटर गरी १२५ किलोमिटर ट्र्याक खोलिएको हो । यस सडक आयोजनाअन्तर्गत दार्चुलामा २१२, बैतडीमा १४४, डडेल्धुरामा ५८ र कञ्चनपुरमा ११ किलोमिटर सडक निर्माण गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस