aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

पाँच लाख ठगेर दलाल फरार, जाहेरी लिनै मान्दैनन् प्रहरी

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • सोमबार, ०६ माघ २०७६
पाँच लाख ठगेर दलाल फरार, जाहेरी लिनै मान्दैनन् प्रहरी

काठमाडौं। छोरालाई विदेश पठाइदिन्छु भनेर पाँच लाख रुपैयाँ ठगेर दलाल फरार भएपछि नगरकोटका नुक्रबहादुर तामाङ १५ दिनअघि महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीमा जाहेरी दिन पुगे। भर्खर प्लस टु सकाएर बसेका छोराले विदेश जाने रहर गरेपछि उनले दलालमार्फत छोरालाई साइप्रस पठाउन तयार भएका थिए।

दलालले दसैंको फूलपातीअवागै पठाउँछु भनेर आश्वासन दिएपछि उनले पाँच लाख रुपैयाँ ऋण खोजेर दलालाई बुझाएका थिए। तर भोलिभोलि भन्दै दलालले विदेश पठाउन झुलाउन थालेको पाँच महिना बित्यो। छोराले कमाएर पठाएपछि पुसभित्रै किस्ता तिर्छु भनेर सर्त राखेका तामाङ छोरा विदेश नजाँदै किस्ता तिर्ने बेला आएपछि छटपटाइरहेका छन्। दलाल अभिषेक सिंह भने फरार छन्। दलाल सम्पर्कमा नआएपछि तामाङ मेट्रोमा जाहेरी दिन पुगेका थिए। तर त्यहाँ प्रहरीले उनको जाहेरी लिन मानेन। भक्तपुरमै जाहेरी दिनुस् भनेर फर्कायो। ‘भक्तपुरमा दुई महिनाअघि नै जाहेरी दिन गएको थिएँ, अहिले हुँदैन पछि आउनुस् भनेर फर्कायो,’ उनले भने, ‘नजिकका एकजनाले मेट्रोमा जानुस् भनेका थिए, यहाँ त झन् जाहेरीले नै लिन मानेन।’

शंखमूलका अनिश उपे्रतीको कोठाबाट आइतबार ल्यापटप र १० हजार रुपैयाँ चोरी भयो। उनी महानगरीय प्रहरी परिसर काठमाडौंका जाहेरी दिन पुगे। तर उनको जाहेरी प्रहरीले लिन मानेन। बानेश्वर वृत्तमा जान सुझाव दिइयो। उप्रेती परिसरबाट सरासर बानेश्वर वृत्तमा आएर खोजतलास तथा उजुरी शाखाभित्र छिरे। जाहेरी दिन नपाउँदै प्रहरीले भन्यो, ‘यस्तो जाहेरी यहाँ लिँदैनौं, ल्यापटप र मोबाइल हराएको जाहेरी परिसरमै दिनुपर्छ।’ उपे्रती झन् अलमलिए। हराएको सामान फेला पर्ला भन्ने आसमा पुनः परिसर पुगे। दोस्रोपल्ट परिसर पुग्दा प्रहरीको हप्की खाएपछि उनी जाहेरी नदिई फर्किए। आइतबार टेकु परिसरमा भेटिएका उनले भने, ‘वृत्तमा गएको परिसर जानू भने परिसर गएको प्रहरीले झर्को मानेपछि फर्किएँ।’

दुई वर्षअघि ऋण लिएको व्यक्तिले म्याद नाघिसक्दा पनि पैसा फिर्ता नगरेपछि कुपण्डोलका राजेश अधिकारी जाहेरी दिन शुक्रबार महानगरीय प्रहरी परिसर जावलाखेलमा पुगे। उनको पनि परिसरले जाहेरी लिनै मानेन। घटनास्थलको नजिकको प्रहरी कार्यालयले जाहेरी लिन नमानेपछि उनी महानगरीय प्रहरी परिसर टेकुमा आए। त्यहाँ आएर उनले जाहेरी दिन खोजे तर प्रहरीले लिनै मानेन। त्यहाँको प्रहरीले नजिकको प्रहरी कार्यालयमा जाहेरी जानुस् भनेपछि उनी अलमलमा परे। ‘तीन लाखको कारोबार हो। दुई वर्षअघि चिनजानकै व्यक्ति उदय श्रेष्ठलाई दिएका थिएँ। उसले पैसा फिर्तै दिएन। प्रहरीकहाँ जाहेरी दिन गएको लिनै मानेन। सानातिना मुद्दा भनेर बेवास्ता गर्दा रहेछन्,’ उनले सुनाए।

आफू ठगिएपछि प्रहरी प्रशासन गुहार्दै जाहेरी दिन पुगेका पीडित व्यक्तिले प्रहरीबाट भोगेका अनुभव साँच्चिकै तीता छन्। पीडितहरू अपराधीलाई कारबाहीको माग राख्दै प्रहरी प्रशासलाई गुहारे पनि प्रहरीले भने चासै दिँदैन। बरु यहाँ जानुस्, त्यहाँ जानुस् भनेर उल्टै पीडितहरूलाई नै घुमाउँछ। पीडित व्यक्तिका अनुसार प्रहरीले सानातिना अपराध भनेर जाहेरीलाई बेवास्ता गर्ने गरेको छ। ‘प्रहरीले पनि सानाठूला अपराध भनेर छुट्याउँदो रहेछ, थोरै रकम ठगेको छ भने त्यसलाई त्यति चासोका साथ लिँदो रहेनछ,’ एक पीडितले भने, ‘वैदेशिक रोजगारमा दलालले ठगेपछि तीन महिनाअघि परिसरमा जाहेरी दिएको प्रहरीले फाइल नै अघि बढाएको रहेनछ, फलोअपमा जाँदा उल्टै हप्काए।’

प्रतिक्रिया दिनुहोस