aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

कार्यकर्तालाई नेकपाको कडा निर्देशनः कसैलाई तँ नभन्नु, जन्मदिन र पासनी घरभित्रै गर्नू !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ माघ २०७६
कार्यकर्तालाई नेकपाको कडा निर्देशनः कसैलाई तँ नभन्नु, जन्मदिन र पासनी घरभित्रै गर्नू !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सदस्यहरुलाई ११ बुँदे आचार संहिता जारी गरेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सर्कुलरमा पार्टीका नेता, कार्यकर्ता तथा सदस्यहरुले पालना गर्नुपर्ने आचार संहिता पनि समावेश छ ।

दुई अध्यक्षले हस्ताक्षर गरेको सर्कुलरको पहिलो बुँदामा प्रत्येक पार्टी सदस्यले श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्न निर्देशन दिइएको छ। सर्कुलरको बुँदा नम्बर २ मा कार्यकर्ताको आत्मअनुशासनबारे बोलिएको छ। जसमा घरको काम परिवारका सदस्यहरुले बाँडफाँट गरेर गर्नुपर्नेदेखि अरुलाई तँ भन्‍न नहुने समेतका कुरा उल्लेख छन्। 

नेकपाले खाना पनि परिवारका सबै सदस्य सँगै बसेर खानुपर्ने भनेको छ। बालबालिका, अशक्त र ज्येष्ठ नागरिकलाई काम लगाउनुहुँदैन र उनीहरूसित प्रेम, सहयोग र सद्भावपूर्ण व्यवहार गर्नुपर्छ। परिवारमा गाली-गलौज, झगडा, भेदभाव र छुवाछूत पूर्ण रूपले अन्त्य गर्नुपर्छ। चाडपर्व र अन्य कामका लागि खर्च गर्दा मितव्ययी हुनुपर्छु, निर्देशनमा भनिएको छ, घरभित्र र बाहिर पनि महिलाप्रति सम्मान प्रकट गर्नुपर्छ। परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्छ। कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्‍न पूर्णरुपले बन्द गर्नुपर्छ। छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ। जन्मदिन, ब्रतबन्ध, पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ। 

त्यसैगरी सर्कुलरको तेस्रो बुँदामा घरको काम आफैँ गर्न यदि नसकेमा मात्रै बाहिरको सहयोगी राख्‍न भनिएको छ। सकेसम्म घरका सबै काम आफ्नै परिवारका सदस्यहरूको सहयोगमा सम्पन्‍न गर्नुपर्छ। नसक्ने अवस्थामा मात्र बाहिरबाट सहयोगी राख्नुपर्छ। सहयोगीलाई सम्मानजनक पारिश्रमिकको व्यवस्था गर्नुपर्छु, सर्कुलरमा भनिएको छ, आफूले काम गरिरहेको अवस्थामै सहयोग लिने गरी काममा लगाउनुपर्छ। खानपिन, बस/उठ गर्दा कुनै किसिमको भेदभाव नहुने गरी परिवारका अन्य सदस्यहरूसँग गरिने व्यवहारसरह सम्बन्ध विकास गर्नुपर्छ। बालबालिकालाई घरेलु श्रमिकका रूपमा राख्नुहुँदैन।

सर्कुलरको बुँदा नम्बर ७ मा आर्थिक व्यवहार पारदर्शी बनाउन भनिएको छ। ुपार्टी सदस्यले नेपालको संविधान र प्रचलित कानुनलाई निःसर्त पालना गर्ने र कानुनबमोजिम कर तिर्ने आचरणको विकास गर्नुपर्छु, सर्कुलरमा भनिएको छ, ऋण, सापटी वा आर्थिक लेनदेनमा विचार पुर्‍याएर काम गर्नुपर्छ। भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, करछली, अनियमितताजस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफूसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गर्न नमूना बन्‍नुपर्छ।

सर्कुलरको बुँदा नम्बर ९ मा पार्टीका प्रत्येक सदस्यले आफ्नो दैनिकीमा सादा जीवन र उच्च विचारलाई प्राथमिकतामा राख्नुपर्ने भनिएको छ। आफूले मात्र होइन आफ्नो परिवार, गाउँ, टोल, सहरबजार, स्कूल, कलेज सबै ठाउँ र संस्थानहरूमा यस किसिमको जीवनशैलीका निम्ति प्रोत्साहन गर्नुपर्छु, सर्कुलरमा भनिएको छ, आफ्नो जीवनलाई सधैँ जनताबीच खुल्ला किताब जस्तै राख्‍न प्रयत्न गर्नुपर्छ। पार्टीले जारी गरेको आचार संहिता पालना नगर्ने र पटकपटक सचेत गराउँदा पनि नसुध्रिने सदस्यलाई कानूनसँग सवालमा कानून बमोजिम र पार्टी अनुशासनसँग सम्बन्धित विषयमा पार्टी विधान, नियमावली र निर्णय अनुसार कारबाही गरिने समेत अध्यक्षद्धयको सर्कुलरमा उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस