वीरगञ्ज । झूटो विवरण पेश गरेर वीरगञ्जबाट छाला पठाइएको ७ महीनापछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छानविन थालेको छ । कोलकाता बन्दरगाहमा रोकिएको छाला फिर्ता ल्याएर छानविन अघि बढाउन गत पुस ११ गते मन्त्रिस्तरीय निर्णय भएको हो ।
बाराको होङ हुई टेनरिज प्रालिले इन्डोनेशिया पठाउन लागेको ३ कन्टेनर छाला भन्सारमा गरिएको घोषणाभन्दा फरक भेटिएको थियो । उद्योगले गत असार ६ गते वीरगञ्जको सुक्खा बन्दरगाहमा क्रस्ट लेदर (प्रशोधित छाला) भनेर पठाएको छाला भारतको कोलकाता भन्सारले रोकेको थियो । छालाको गुणस्तर जाँच गर्दा ‘र स्किन प्रोडक्ट’ (कच्चा छाला) प्रमाणित भएको थियो ।
मन्त्रालयले गत पुस १४ मा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पत्र लेखेर छानविन अघि बढाउन निर्देशन दिएको छ । कोलकातामा रोकिएको छाला नेपाल फिर्ता ल्याएर छानविन गर्न मन्त्रालयले विभागलाई पत्राचार गरेको हो । कन्टेनर ल्याँउदा लाग्ने खर्चसमेत उद्योग तथा ढुवानीकर्ताबाट भराउन भनिएको छ । वीरगञ्जमा ल्याएर भन्सार कार्यालय, पशु क्वारेन्टाइन र वीरगञ्ज उद्योग वाणिज्य संघको समन्वयमा छानविन गरी प्रतिवेदन बुझाउन मन्त्रालयले निर्देशन दिएको छ ।
कोलकातामा छाला समातिएको समाचार आर्थिक अभियान दैनिकले त्यति बेलै प्रकाशित गरेको थियो । विवरण ढाँटेर लगिएको पत्ता लागे पनि सरोकारका अन्य निकायले छानविनमा आलटाल गरेका थिए । अहिले वाणिज्य मन्त्रालयले यसमा चासो देखाएको छ । मन्त्रालयले भन्सार विभाग, कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र नेपाल उद्योग वाणिज्य महासंघलाई छानविनमा सहजीकरणका लागि आग्रह गरेको छ ।
महावाणिज्यदूत एकनारायण अर्यालले छाला नेपाल फिर्ता पठाउन कोलकाता बन्दरगाह भन्सारसित समन्वय भइरहेको बताए । ‘कोलकाता भन्सारले समातेको छाला नेपाल फिर्ता पठाउनेसम्बन्धी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयको जानकारी आएको छ,’ उनले आर्थिक अभियानसित भने, ‘यहाँको भन्सारसित यसबारेमा निरन्तर समन्वय भइरहेको छ ।’
कोलकाता भन्सारले सेन्ट्रल लेदर रिसर्च इन्स्टिच्युटमा तीनओटै कन्टेनरबाट छालाको नमूना परीक्षण गराएको थियो ।
गलत कस्टम ट्रान्जिट डिक्लेरेशन (सीटीडी) बाट छाला निकासी गर्न लागेको पत्ता लागेपछि तत्कालै कोलकाता भन्सारले पत्राचार गरे पनि भन्सार विभाग अहिलेसम्म मौन बसेको छ ।
प्रतिक्रिया दिनुहोस