
झापा । दमक–१ घर भएकी ढाका कपडा व्यवसायी नीरु पुलामीलाई आफूले उत्पादन गरेको कपडाको माग निरन्तर बढ्दै गएपछि बजार धान्न मुस्किल हुँदै गएको छ । नानीहरु स्कूल र जागिरे पति काममा गएपछि घर रुङेर समय बिताउनुभन्दा ढाकाको तान बुन्ने सीप सिकेर २० वर्षअघि स्वरोजगारमा लागेकी उनी अहिले सयौँलाई रोजगारी दिने उद्यमीको पहिचान बनाउन सफल भएकी छन् ।
“हिजो फुर्सदको समयमा शुरु गरेको व्यवसाय आज जीवन धान्ने माध्यम बनेको छ”, पुलामी आफूले रोजेको स्वरोजगारीको बाटोप्रति खुशी हुँदै भन्छिन् । दमक–१ मा उनले सञ्चालन गरेको प्रवीण ढाका उद्योगमा ७० भन्दा बढी कपडा बुन्ने हाते मेसिन (तान) छन् । उनको वार्षिक मुनाफा नै रु २० लाखभन्दा बढी छ । दमक नगरपालिकाका महिला सदस्यले हरियो रङको ढाकाको साडीलाई औपचारिक पोशाक बनाएका छन् । एकै रङको पहिरन लगाएर नगरपालिकाको कार्यक्रम र बैठकमा पुग्दा महिला जनप्रतिनिधिलाई असाध्यै सुहाएको छ । यी सबै पोशाक पुलामीको ढाका उद्योगका उत्पादन हुन् ।
उनीहरुले जस्तै बुद्धशान्ति र कमल गाउँपालिका, मेचीनगर र कनकाई नगरपालिकाका महिलाले विवाह, व्रतबन्ध, भोजभतेरलगायतमा कार्यक्रममा जाँदा ढाकाकै कुर्था सलवार, साडी, बर्की, ब्याग, चप्पलसमेत प्रयोग गर्न थालेका छन् । “नयाँ–नयाँ ठाउँबाट कपडाको माग आइरहेको छ”, उनी भन्छीन्, “मागेजति कपडा पु¥याउन नसकिने अवस्था भइसक्यो ।”
स्थानीय तहका जनप्रतिनिधि, सहकारी संस्थाका महिला सदस्य, आमा र बचत समूहका महिलाले संस्थागत पहिचानका लागि एउटै रङको पहिरन लगाउने प्रचलन बढ्दै गएको छ । पुरुषहरुले लगाउने दौरा, सुरुवाल र टोपी ढाकाकै मन पराइने हुँदा बजार व्यापक बन्दै गएको छ । धेरैजसोले मौलिक पहिरनका रूपमा ढाकाका कपडा नै रोज्न थालेपछि पुलामीले सञ्चालन गरेको उद्योगमा माग बढेको हो ।
उनको उद्योगमा आबद्ध हुनेमध्ये पति वैदेशिक रोजगारमा गएका महिला, पहाड तथा तराईका ग्रामीण क्षेत्रबाट दमकमा कलेज पढ्न आउने विद्यार्थी र सामान्य गृहिणीहरुले घरमै तान लगेर ढाकाका सामग्री बुन्ने गरेका छन् । घर–घरमा बनाएका ढाकाका सामग्रीको बजारीकरण पुलामी आफैँ गर्छीन् । “ढाका महङ्गो भए पनि नेपाली पहिचान झल्कने र लगाउँदा राम्रो र न्यानो भएकाले यसको माग बढेको हो”, उने भने, “शुरुमा बजारको समस्या थियो, अहिले ग्राहकको माग धान्न हम्मे परेको छ ।”
प्रतिक्रिया दिनुहोस