काठमाडौं । नेपाल पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का बारेमा प्रधानमन्त्री र पर्यटन मन्त्रीबीच मतभिन्नता हुँदा सीईओ चयन प्रक्रिया विवादित बन्नुका साथै लम्बिन पुगेको छ । पर्यटन बोर्डको आइतवार साँझको बैठकमा नयाँ सीईओको नाम सिफारिश गर्ने बताइए पनि अर्को सूचना नआएसम्म स्थगित गरिएको छ ।
बोर्डका तत्कालीन सीईओ दीपकराज जोशीको कार्यकाल पुसको दोस्रो साता सकिएपछि नयाँ प्रमुख नियुक्त गर्न बोर्डका सदस्य विप्लव पौडेलको संयोजकत्वमा पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय र बोर्डका अर्का सदस्य कृष्णबहादुर महरा सम्मिलित उपसमिति बनाइएको थियो । सो उपसमितिले डा. धनञ्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐरको नाम सिफारिश गरेको छ । तर, निवर्तमान जोशी भने सो सूचीमा पर्न सकेनन् ।
पर्यटन मन्त्री योगेश भट्टराईले आफ्नो रोजाइमा रहेका डा. रेग्मीलाई नियुक्ति गर्ने योजना बनाएकोमा प्रधानमन्त्री कार्यालय रेग्मीप्रति सकारात्मक नहँुदा सीईओ नियुक्ति तत्काल अगाडि बढाउनबाट रोकिएको बोर्ड सदस्यहरूकै आरोप छ । उनीहरूले कार्यविधि लत्याएर सीईओ नियुक्तिमा चलखेल भएको आरोपसमेत लगाएका छन् । स्रोतका अनुसार प्रधानमन्त्रीको रोजाइमा निवर्तमान सीईओ जोशी रहेका छन् ।
विधि र प्रक्रिया पूरा गरेर सिफारिश गरिएकामध्येबाट तत्काल सीईओ छनोट गर्नुपर्नेमा विभिन्न बहाना बनाउँदै प्रक्रिया रोक्नुले गम्भीर आशंका उत्पन्न भएको बोर्डका सदस्य तथा सीईओ छनोट उपसमितिका सदस्य कृष्णबहादुर महराले बताए । ‘नेपाल भ्रमण वर्षलाई गतिशील बनाउन पनि जतिसक्दो छिटो सीईओ नियुक्त हुनुपर्नेमा अल्झाएर राखिएको छ । यसले पर्यटन वर्षमात्र होइन, पर्यटन बोर्डलाई नै धराशयी बनाउनेछ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस