सर्लाही । सर्लाहीको अन्नपूर्ण चिनी उद्योग धनकौलबाट भुक्तानि नपाउँदा उखु किसानको समस्या कायमै छ । उद्योगका सञ्चालकले सरकारसँग गरेको सहमति अनुसार भुक्तानि नपाउँदा किसान निराश भएका छन् । लामो समयसम्म किसाने चिनी उद्योगबाट भुक्तानि नपाए पछि काठमाण्डौं पुगेर आन्दोलन गरेका थिए ।
किसानको आन्दोलनपछि उद्योगीले सरकार समक्ष माघको पहिलो हप्ता सम्पूर्ण रकम भुत्तानि गर्ने सहमति जनाएका थिए । तर विगत तीन वर्षदेखिको भुक्तानि नदिएको अन्नपूर्ण चिनी उद्योगले सहमतिपछि पनि सबै किसानलाई भुक्तानि दिएको छैन् ।
आन्दोलन गर्न काठमाण्डौं पुगेका किसानको मात्रै उद्योगले भुक्तानि गरेको छ । अन्नपूर्णले सरकारसँग यो पटक गरेको सहमति मात्रै नभई यसअघि स्थानीय प्रशासनसँग गरेको सहमति पनि कार्यान्वयन गरेको छैन् । किसानलाई अघिल्ला वर्षहरुको भुक्तानि दिन नसकेर सर्लाहीका तीन चिनी उद्योगमध्ये अन्नपूर्ण चिनी उद्योग अझै सञ्चालनमा आउन सकेको छैन् ।
चिनी उद्योग सञ्चालन नहुँदा यहाँका किसान सख्खर बनाउने क्रसर उद्योगलाई कम मूल्यमा उखु बिक्री गर्न बाध्य भइरहेका छन् । सरकारसँग सहमति भए पछि पनि पुरानो भुक्तानि नपाउँदा दुःख लागेको विष्णु गाउँपालिकास्थित बाराउद्योरणका उखु किसान अजित सिंहले बताए । उनले आन्दोलन गर्न काठमाण्डौं गएका किसानले पैसा पाए पनि अरुले नपाएका जानकारी दिए । उखु किसानका अनुसार अन्नपूर्णले अझै किसानको २१ करोड रुपियाँको हाराहारीमा भुक्तानि गर्न बाँकी छ ।
सरकारसँग सहमित भएपछि जिल्लाको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदह भने सञ्चालनमा आइसकेको छ । यो उद्योगले पनि गत वर्षको किसानलाई पूरा भुक्तानि गरिसकेको छैन् । उद्योगले अझै धेरै किसानको भुक्तानि दिन बाँकी रहेको उखु किसान समेत रहेका गोडैता नगरपालिकाका प्रमुख देवानन्द रायले बताए ।
महालक्ष्मीले किसानलाई अझै १० करोड रुपियाँको हाराहारीमा भुक्तानि गर्न बाँकी छ । सरकारसँग सहमति भएपछि केही रकम भुक्तानि गरेका चिनी उद्योगीले बैङ्कबाट ऋण नपाउँदा सबै किसानको भुक्तानि दिन नसकिएको बताएका छन् ।
सरकारसँग सहमति गरेर पनि चिनी उद्योगले भुक्तानि नदिँदा उखु किसानमा थप निराशा पैदा भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए। उनले भुक्तानिका लागि किसानले पुनः आन्दोलन सुरु गर्ने तयारी गरिरहेको जानकारी दिए । चिनी उद्योगसँगै उखु किसानले सरकारबाट पाउनु पर्ने अनुदान रकम समेत पाउन सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस