aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

दीपक मनाङे बिरुद्ध एन्फा अध्यक्षले उजुरी हाल्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ माघ २०७६
दीपक मनाङे बिरुद्ध एन्फा अध्यक्षले उजुरी हाल्दै

पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) विरुद्ध अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले प्रहरीमा उजुरी दिने तयारी गरेका छन् । 

मंगलबार पोखराको भण्डारढिकमा आयोजित पहिलो मुख्यमन्त्री कपको खेल मैदानमै विवाद भएपछि सांसद गुरुङ (दीपक मनाङे)बाट कुटिएका एन्फा कास्कीका अध्यक्ष गुरुङले उनी विरुद्ध कानुनी उपचार खोज्ने बताएका हुन् ।  

अध्यक्ष गुरुङले बुधबार पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै भने, ‘एन्फामाथि भ्रष्टाचारको आरोप लगाउनुभएको छ, त्यसलाई प्रमाणित गर्नुपर्‍यो । आरोपमात्रै लगाएर उम्किन त पाइँदैन ।’ अध्यक्ष गुरुङले सांसद भन्दैमा मान्छे कुट्न छुट नभएको पनि बताए । 

‘आजै जिप्रकामा जिउधनको सुरक्षासहित कुटपिटविरुद्ध उजुरी दर्ता गर्छु,’ उनले भने। सांसद गुरुङले अध्यक्ष गुरुङलाई पिटेको स्वीकारिसकेका छन्। 

अध्यक्ष मिलन गुरुङका अनुसार प्रतियोगितामा मनाङबाट ल्याएको टिमलाई ५ दिन अघिदेखिको होटल खर्च दिनुपर्ने भन्दै सांसद मनाङेले मागेका थिए । खर्च दिन नसक्ने बताएपछि आफूलाई हातपात गरेको उनको भनाई छ  ।

प्रतियोगितामा मनाङबाट डाँफे युवा क्लबले सहभागिता जनाएको छ । हातपातबारे बुझ्दा मनाङेले ‘ठूलो’ कुरा गरेकाले आफूले सम्झाएको बताएकाे छ ।

‘मनाङबाट खेलाडी आएको धेरै भइसक्यो, न खेल्ने ग्राउण्ड दिन्छ, न खर्च दिन्छ,’ मनाङेले भने, ‘सम्झाउँदा नलागेसी झापड दिएको हुँ ।’

प्रतिक्रिया दिनुहोस