aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

तीन चिनी मिलको बैंक खाता रोक्का गर्दै सरकार

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • विहीबार, ०९ माघ २०७६
तीन चिनी मिलको बैंक खाता रोक्का गर्दै सरकार

काठमाडौं । सरकारले उखु किसानको बक्यौता रकम नदिने तीन चिनी मिलको बैंक खाता रोक्का गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाचा गरेको समयमा पनि बक्यौता भुक्तान नगर्ने अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्री, इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्री र लुम्बिनी चिनी उद्योगको बंैक खाता रोक्का गर्ने प्रक्रिया अगाडि बढाएको हो । 

मन्त्रालयका अनुसार यी तीन उद्योगको बैंक खाता रोक्का गर्न बुधवार नै आन्तरिक राजस्व विभागलाई पत्राचार गरिएको छ । मन्त्रालयले उखु किसानलाई दिइने भुक्तानीबाहेक अन्य सबै बैंक कारोबार रोक्का गर्न विभागलाई निर्देशन दिएको छ ।

‘यी तीन उद्योगमाथि कडा रूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता देखियो । लुम्बिनी चिनी उद्योगका सञ्चालक सम्पर्कमा पनि आएका छैनन्,’ बुधवार मन्त्रालयमा गरिएको विशेष पत्रकार सम्मेलनमा वाणिज्य मन्त्रालयका सहसचिव दिनेश भट्टराईले बताए ।

उखु किसानहरूले १४ चिनी मिलबाट रू. १ अर्ब १६ करोडभन्दा बढी बक्यौता पाउन बाँकी छ । यद्यपि, स्वयम् मन्त्रालयसँगै यसबारेमा यकिन तथ्यांक भने छैन । 

हालसम्म हिमालय सुगर मिल्स, इन्दुशंकर चिनी उद्योग, इस्टर्न सुगर मिल्स, रिलायन्स सुगर इन्डस्ट्री र भागेश्वर सुगर इन्डस्ट्रीले किसानहरूलाई सबै भुक्तानी दिइसकेको मन्त्रालयको दाबी छ । सहसचिव भट्टराईले भने, ‘यी पाँच उद्योगले सबै भुक्तानी दिएको जानकारी दिएका छन् । तर, बैंक खाता उपलब्ध नभएका किसानको भने बाँकी रहेको बताएका छन् ।’

मन्त्रालयका अनुसार अन्य चार कम्पनीले भने किसानहरूलाई आंशिक रकम भुक्तानी गरेका छन् । किसानहरूलाई कुल रू. २१ करोड ४० लाख बक्यौता तिर्न बाँकी रहेको महालक्ष्मी सुगर मिलले पछिल्लो समय रू. ११ करोड ५० लाख भुक्तानी गरेको छ । त्यस्तै, रू. ४२ करोड बक्यौता तिर्न बाँकी अन्नपूर्ण सुगरले किसानहरूलाई मात्र रू. ३ करोड ९० लाख भुक्तानी दिएको छ । 

मन्त्रालयका अनुसार इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्रीले मात्र रू. ७४ लाख किसानलाई भुक्तानी दिएको छ जबकि उसको कुल बक्यौता रकम रू. १० करोड रहेको छ । यसैगरी, एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रीले किसानहरूलाई रू. ७ करोड ९३ लाख भुक्तानी गर्न बाँकी छ । उक्त उद्योगले बैंक खाता उपलब्ध नभएका किसानको मात्र भुक्तानी दिन बाँकी रहेको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस