काठमाडौँ । तपाईं उपत्यकावासी हुनुहुन्छ भने केही समययता यहाँको सडकको अवस्थामा सुधारको अनुभव आवश्यक नै गर्नुभएको होला । सडकमा कालोपत्रे, रङरोगनसहित ट्राफिक चिह्नको निर्माण लगायतका सुधारका कार्यमा सरकारी तीव्रता र भएका सुधारले यस्तो अनुभव गर्नसक्ने अवस्था आएको हो ।
प्रधानमन्त्रीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले उपत्यकाको सडकको अवस्थामा सुधारका लागि सरकार प्रयत्नरत रहेको र काममा तीव्रता दिएकाले सुधार हुँदै गएको बताए । अहिले सडकका खाल्डाखुल्डी पुर्ने, मुख्य सडकको कालोपत्रे गर्ने, रङरोगन तथा ट्राफिक चिह्न र लाइटको निर्माणले उपत्यकाको सडकको अवस्थामा देखिने गरी सुधार आएको उनले स्पष्ट पारे ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काठमाडौँ उपत्यकाका सडकको खाल्डाखुल्डी पुर्न र ट्राफिक व्यवस्थापन गर्र्न ‘टास्क फोर्स’ गठन गरी मङ्सिर १७ गतेबाट काम सुरु गरेदेखियता सडकको अवस्थामा सुधार आएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका आर्थिक पूर्वाधार महाशाखाका प्रमुख सहसचिव छवि रिजालको संयोजकत्वमा ‘टास्क फोर्स’ गठन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्सिर ९ गते सम्पन्न चालू आर्थिक वर्ष २०७६÷७७ को चौमासिक समीक्षा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अबको चार महिनामा काठमाडौँ उपत्यकाका सडकहरूको खाल्डाखुल्डी पुर्न भनेका थिए । निर्देशनबमोजिम सम्बन्धित निकायहरूसँग समन्वय गरी काम अगाडि बढाउन सो ‘टास्क फोर्स’ गठन गरिएको हो ।
सडकको खाल्डाखुल्डी पुरिनुका साथै सडक व्यवस्थापनको कामलाई तीव्रताका साथ अगाडि बढाइएको थपलियाको भनाइ छ । उनले माघ मसान्तसम्म सङ्घीय सडकअन्तर्गत पर्ने उपत्यकाका सबै सडकमा खाल्डाखुल्डी पुरिने काम सम्पन्न हुने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस