aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सर्वसाधारणको पहुँचले बढे भ्रष्टाचारका उजुरी

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • विहीबार, ०९ माघ २०७६
सर्वसाधारणको पहुँचले बढे भ्रष्टाचारका उजुरी

काठमाडौँ  । स्थानीय तहमा सर्वसाधारणको पहुँच सजिलै हुने भएकाले भ्रष्टाचारका घटना बाहिर आउन थालेको बताइएको छ । जनतामा आफूले तिरेको राजस्वको सही सदुपयोग र आर्थिक अनियमितता नहोस् भन्ने पक्षमा जनसाधारण सचेत बन्दै गएकाले यस्तो अवस्था आउन थालेको सम्बन्धित क्षेत्रका जानकारहरूको भनाइ छ ।

बितेका केही समययता अख्तियारमा पनि स्थानीयस्तरमा भएका भ्रष्टाचार घटनाका उजुरीको चाङ लाग्ने गरेको जनाइएको छ । हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा पनि स्थानीय तहमा भ्रष्टाचार बढेको तथ्य सार्वजनिक भएको छ । निर्वाचनपछि स्थानीय तहले सरकारकै स्वरूपमा रूपान्तरण भई सबै किसिमका विकासनिर्माण तथा सबै खालका गतिविधिमा सर्वसाधारणको पहुँच अभिवृद्धि भएकाले त्यहाँभित्र देखिएका विकृति र अनियमितता बाहिर आएको स्थानीय तहका जनप्रतिनिधिको ठहर छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका महासचिव एवं सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ स्थानीय तहमा भएका हरेक गतिविधिको सर्वसाधारणले सजिलै जानकारी पाउने र सोको आधारमा अख्तियारमा उजुरी दिने गरेको बताउँछन् । उनि भन्छन्, “स्थानीय तहमा विकृति र अनियमितता भएको छैन भन्ने हाम्रो भनाइ होइन तर स्थानीयको तुलनामा सङ्घीय सरकारमा धेरै भ्रष्टाचार भएको छ, जुन सर्वसाधारणले थाहा पाउँदैनन् ।”
 

प्रतिक्रिया दिनुहोस