काठमाडौं । नेपाल वायुसेवा निगमको ६० वर्षे इतिहासमै पहिलो पटक दुई दर्जनभन्दा बढी पाइलटले सामुहिक राजीनामा बुझाएका छन् । व्यवस्थापनका कारण निगम धराशयी भएको तथा विदेशी र नेपाली पाइलटबीच सेवा–सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरूले राजीनामा बुझाएका हुन् । अन्तर्राष्ट्रिय उडान भर्ने निगमका चार जहाजका ४० पाइलटमध्ये बिहीबार २५ जनाले सामुहिक राजीनामा दिएका हुन् ।
वाइडबडीका तीन र न्यारोबडीका २२ पाइलटसहित २५ जनाले निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दलाई सामुहिक राजीनामा बुझाएका हुन् । राजीनामा दिने सबै स्थायी पाइलट हुन् । राजीनामा बुझाउनेमध्ये १५ जना क्याप्टेन हुन् भने १० जना को–पाइलट हुन् ।
राजीनामा स्वीकृत गर्न पाइलटले तीन महिनाको म्याद दिएका छन्। राजीनामा दिएका २५ पाइलट सबै बाहिरिए भने निगमको अन्तर्राष्ट्रिय उडान पूर्ण रूपमा बन्द हुनेछ । निगममा १३ विदेशी क्याप्टेन छन् । तर, क्याप्टेन र को–पाइलट दुवै नभई उडान गर्नै पाइँदैन । निगमले हाल दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाजमार्फत नौवटा गन्तव्यमा उडान भर्दै आएको छ ।
निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दले व्यवस्थापनको कमजोरी र सुविधा तथा करका विषयमा विभेद गरेको भनेर राजीनामा आएको उनले बताए । सामूहिक राजीनामा आउनु दःस्खद भएको बताउँदै चन्दले पर्यटन सचिवलाई यस विषयमा जानकारी गराइसकेको उनले बताए । सञ्चालक समितिले राजीनामाको विषयमा समाधान निकाल्ने चन्दले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस