aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

४० करोडको वैदेशिक रोजगार बचतपत्र निष्कासन

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, ११ माघ २०७६
४० करोडको वैदेशिक रोजगार बचतपत्र निष्कासन

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीमा हुनुहुन्छ वा के तपाईं भर्खर मात्र फर्किनु भएको हो ? यदि त्यसो हो र तपाईंले दुःख गरेर कमाएको रकमलाई सुरक्षित लगानी गर्न चाहनु भएको छ भने नेपाल राष्ट्र बैङ्कको बचतपत्र खरिद गर्न सक्नुहुन्छ ।

राष्ट्र बैङ्कले शुक्रबार मात्र ४० करोड रुपियाँको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ । पाँच वर्षे अवधिका लागि ल्याइएको यो बचतपत्रमा १० प्रतिशत ब्याजदर तोकिएको छ । ब्याज अर्धवार्षिक रूपमा बचतकर्तालाई उपलब्ध गराइने नेपाल राष्ट्र बैङ्कको राष्ट्र ऋण व्यवस्थापन विभागले जनाएको छ ।

राष्ट्र बैङ्कले वैदशिक रोजागारीमा गएका र गैरआवासीय नेपालीको पुँजीको सुरक्षित परिचालनका लागि पटक–पटक यस्तो बचतपत्र निष्कासन गर्ने गरे पनि अपेक्षित रूपमा भने त्यो बिक्री हुन सकिरहेको छैन । गत आर्थिक वर्षमा भने सरकारले वैदेशिक रोजगारीमा जानेका लागि यस्तो बचतपत्र निष्कासन गरेको थिएन । त्यसअघि लगातार नौ वर्षसम्म यस्ता बचतपत्र निष्कासन गर्दा जम्मा ११ अर्ब रुपियाँको मात्र बिक्री भएको थियो ।

चालू आवमा सरकारको मौद्रिक नीतिमा पनि वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरूको पुँजी परिचालनका बचतपत्र निष्कासन गर्ने नीति लिएपछि राष्ट्र बैङ्कले पटक–पटक बचतपत्र निष्कासन गरेको नेपाल राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । 

राष्ट्र बैङ्कले गत पुसमा पनि २० करोड रुपियाँको बचतपत्र निष्कासन गरेको थियो । २१ दिनका लागि मात्र खुल्ला गरिएको उक्त निष्कासन रकममध्ये १९ लाख २० हजार रुपियाँको बचतपत्र मात्र बिक्री हुन सकेको थियो ।

राष्ट्र बैङ्कले बारम्बार यस्तो अवसर उपलब्ध गराए पनि लक्षित वर्गका लगानीकर्ता भने खासै आकर्षित हुन सकिरहेका छैनन् । वैदेशिक रोजगारीबाट फर्केका र गैरआवासीय नेपालीहरूलाई यस्तो लगानी सुरक्षित हुने, कुनै जोखिम नहुने भन्ने विषयमा जानकारी कम भएकाले पनि लक्ष्य अनुसार बिक्री हुन नसकिरहेको भनाइ डा. भट्टको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस