aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

मासिक असुली गरेपछि छुटः प्रहरी नै तस्करीमा

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शनिबार, ११ माघ २०७६
मासिक असुली गरेपछि छुटः प्रहरी नै तस्करीमा

रूपन्देही । रूपन्देहीको सीमावर्ती क्षेत्रमा दुई प्रहरी संगठनकै ‘सेटिङ’ मा तस्करी मौलाएको छ। भैरहवा भन्सारबाट बिना भन्सार सामान भित्रिनेदेखि मर्चवार क्षेत्रका नाकाबाट प्याज, कपडा, कुखुरा, मोर्टरपार्टस्, हार्डवेयरका सामानहरू तस्करी हुने गरेका छन्।

प्रहरीले नियन्त्रणको सट्टा ‘मासिक असुली’ गरेर तस्करीमा छुट दिने गरेको छ। बुधबार मात्रै भैरहवाबाट भित्रिएका डेढ करोड मूल्य बराबरका मोबाइल काठमाडौं प्रहरीले नियन्त्रणमा लियो। रूपन्देहीका दर्जनभन्दा बढी चेकपोष्ट पार गर्दै काठमाडौं पुर्‍याइएका ती मोबाइल नागढुंगामा पक्राउ परेका हुन्। यसबीचमा ५० भन्दा बढी चेक प्वाइन्ट छन्। तर विभिन्न कम्पनीका ६३४ थान मोबाइल काठमाडौं पुगेपछि मात्रै भेटिए।

भैरहवा भन्सार प्रमुख कमलकुमार भट्टराईले उक्त सामग्री एकैपटक नेपाल नभित्रिएको दाबी गर्छन्। ‘यो भन्सारबाट भित्रिएको सामान होइन’, उनले भने, ‘बाहिरको गैरकानुनी काम रोक्ने जिम्मा प्रहरीको हो।’ रूपन्देहीको सीमा क्षेत्रमा खटिएका जनपद र सशस्त्र प्रहरीले नै तस्करीमा सेटिङ मिलाएपछि तस्करी मौलाएको हो। यी दुई प्रहरीबीच कसले कमाउने भन्ने ‘धन्दा’ नै चलेको छ।

रूपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले घुमुवा प्रहरीमार्फत सेटिङ मिलाएको आरोप छ। ‘असईको नेतृत्वमा चारजना प्रहरीलाई सेटिङ मिलाउन खटाइएको छ’, एक प्रहरी अधिकृतले भने। प्रहरी सहायक नायव निरीक्षक हृदय चौहान, प्रहरी जवान वीरेन्द्र रोक्का क्षेत्री, शंकरराज गिरी र कृष्ण श्रेष्ठ उनका खास घुमुवा रहेको प्रहरीहरू नै बताउँछन्।

प्रतिक्रिया दिनुहोस