aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

चीनमा देखिएको खतरा भाइरसको सङ्क्रमण नेपालमा पनि भेटियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ माघ २०७६
चीनमा देखिएको खतरा भाइरसको सङ्क्रमण नेपालमा पनि भेटियो

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएको जनाएको छ । 

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सोको निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हाल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराउँछौँ, यसबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको छ ।”

बिरामीका नजिकमा आएकाको खोजी गरी पहिचान तथा परीक्षणको काम भइरहेको र त्यसबारे अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीका प्रावधानअनुसार विश्व स्वास्थ्य सङ्गठनलाई चाँडै विस्तृत जानकारी गराउने मन्त्रालयले जनाएको छ । अहिले कोरोना भाइरस सङ्क्रमित बिरामी आउन सक्ने स्थानमा तयारी र सतर्कता अपनाइएको छ । त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता बढाएर उपयुक्त जनशक्ति र उपकरणसहित नेपाल भित्रने शङ्कास्पद बिरामीको निगरानी भइरहेको पनि मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस