aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

एक रुपैयाँ कप चिया, पाँच रुपैयाँमा पेटभरी भात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ माघ २०७६
एक रुपैयाँ कप चिया, पाँच रुपैयाँमा पेटभरी भात

काठमाडौँ । पछिल्लो केही महिना यता प्रदेश नं एकमा  सस्तो मुल्यमा गुणस्तरीय खाना खुवाउने प्रतिस्पर्धा चलिरहेको छ । 

कहिले प्रदेशको राजधानी विराटनगरमा १० रुपैयाँमा मार्सी चामलको भात पाइने समाचार सुनिन्छ  त कहिले प्रधानमन्त्रीको गृह जिल्ला झपामा ५ रुपैयाँमै पेटभरी खान पाइने समाचारहरूले संचार मात्तयमा तताएको देखिन्छ। 

मोरङ जिल्ला स्थित विराटचौकमा अहिले झन अपत्यारीलो अर्को अफर सुरु भएको छ । त्यो हो, एक रुपैयाँमा नै कप भरी चिया । 

देशमा महँगी दिनहुँ बढिरहँदा यसरी एक रुपैयाँमा चिया पिउन पाउनु अनौठो विषय हो । तर युवाहरूको जोस र लगनशीलताको अगाडी यो कुनै अश्चर्य भने पक्कै होइन । सुन्दरहरैँचा नगरपालिका वडा नं.१२ स्थित रहेको यम बुद्ध क्रिकेट क्लबका युवाहरू मिलेर आइतबारबाट एक हप्ता सम्म यसरी सस्तोमा चिया खुवाउने अभियान सुरु गरेका हुन्।

उक्त क्लबका अध्यक्ष सेमन्त खतिवडाका अनुसार भरतपुर स्थित धुर्मुस सुन्तली फाउण्डेसनद्धारा निमार्ण हुँदै गरेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ यो अभियान सञ्चालन गरिएको हो । 
उनले आर्थिक न्युजसँग भने ‘हामी युवाहरू मिलेर कसैले चिनी, कसैले चिया रङ्ग त कसैले दूधको व्यवस्था गरेर यो कार्यक्रमको आयोजना गरेका हौँ । रङ्गशालामा सहयोग गर्ने हेतुले एक रुपैयाँमा एक कप चिया भन्ने नारा सहित अघि बढेका छौ ।’ उनले थपे ‘सोचेको भन्दा राम्रो नतिजा देखिएको छ । कार्यक्रममा १०० जना भन्दा बढिले चिया पिएर खुसी हुँदै सहयोग पनि गर्नु भएको छ ।’

खतिवडाले कार्यक्रम अवधि भरिमा एक लाख रुपैयाँ सम्म सहयोग सङ्कलन हुने अपेक्षा रहेको बताए । 

पाँच रुपैयाँमा साधा खाना, १० रुपैयाँमा मासु भात


 
त्यस्तै, झापा स्थित दमकका केही युवाहरूको अर्को समूहले लगभग तीन साता अघि अर्को एक यस्तै प्रकारको अभियान थालेका थिए । उनीहरूले सर्वसाधारणलाई ५ रुपैयाँमा सादा खाना र १० रुपैयाँमा मासु भात खाने व्यवस्था गरेका हुन ।

युवाहरूको उक्त समूहले पनि  खाना खाएका ग्राहकहरूबाट सङ्कलित रकम मिर्गौलाको समस्याबाट पीडित २५ वर्षीय एक युवाको उपचारका लागि खर्च गर्न अभियान चलाएका थिए ।

इलाम चुलाचुली ५ का २५ वर्षीय शुक्रराज लिम्बुका दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक सहयोग जुटाउने उद्देश्यले ५ रुपैयाँमा भात खुवाउने अभियान चलाइएको थियो ।

१० रुपैयाँमा मार्सी चामलको भात

प्रदेश एकको राजधानी विराटनगरमा १० रुपैयाँमा मार्सी चामलको खाना खान पाउने अर्को अभियान पनि सफल रुपमा चलिरहेको छ । यो अभियान भने कसैलाई सहयोग गर्न नभएर समाजसेवाको उदेश्यले सञ्चालन भएको हो ।

चार जना समाजसेवीले कोही भोकै रहनु नपरोस भन्ने उदेश्यका साथ नितान्त सेवा भावले  सस्तोमा खाना खुवाउने अभियान सञ्चालन गरेका हुन् । उनिहरुले चलाएको सो भान्छामा  सर्वसाधारणदेखि राम्रै आम्दानी हुने मानिसहरूको भिड लाग्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस