aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

को हुन् नवनिर्वाचित सभामुख सापकोटा ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ माघ २०७६
को हुन् नवनिर्वाचित सभामुख सापकोटा ?

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटा निर्वाचित भएका छन् । आइतबार बसेको संसद बैठकले सापकोटालाई प्रतिनिधिसभाको नियमावली २०७५ को नियम ७ को उपनियम ३ बमोजिम निर्विरोध निर्वाचित गरेको हो । 

को हुन् सापकोटा 

साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट संविधानसभामा दुई पटक भारी मतान्तरले विजयी सापकोटा पछिल्लो ०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी भएर प्रतिनिधसभा सांसद रहेका सापकोटा हाल सभामुख भएका छन् । 

सिन्धुपाल्चोक जिल्ला चौतारा ६ कुविण्डेमा ०१४ साल फागुन २४ गते अग्नि सापकोटाको जन्म भएको हो । बाबु धनपति सापकोटा र आमा तिलमाया सापकोटाको कोखबाट उनको जन्म भएको थियो । उनका ३ छोरा छन् ।  ०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले पटक–पटक गरी २ वर्ष जेल जीवन बिताएका छन् । ०४८ सालमा संयुक्त जनमोर्चाकातर्फबाट प्रतिनिधिसभा निर्वाचनमा उमेदवार बनेका उनी पराजित भएका थिए । ०५१ सालमा पार्टी केन्द्रीय सदस्य बनेका सापकोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्य समेत थिए ।

सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा १५ वर्ष प्राध्यापन गर्दा उनी शिक्षक राजनीतिमै सक्रिय थिए । प्रधानाध्यापक छोडेर उनी पूर्णकालीन राजनीतिमा होमिएका थिए । ०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्तिप्रक्रियामा नआउँदा सम्म भूमिगत नै थिए । जनयुद्धको समयमा उनले आफ्ना तीनजना भतिजा भतिजिसमेत गुमाएका थिए । उनका कान्छो भाई कृष्ण प्रसाद सापकोटाकी छोरी शुभद्रा सापकोटा, जेठो दाजुको दुईवटा छोरा रेवती सापकोटा र प्रेम सापकोटा जनयद्धकै बेलामा ज्यान गुमाएका थिए । 

साथै, पछिल्लो पटक सिन्धुपाल्चोकको ठोकर्पामा भएको भिडन्तमा उनलाई समेत गोली लागेको थियो । त्यतिबेला उनी क्षेत्रीय व्यूरो इन्चार्ज थिए । सापकोटा २ पटक मन्त्री भइसकेका छन् । सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारी उनले सम्हालिसकेका छन् । संविधान सभा निर्वाचनमा आफ्ना प्रतिस्पर्धीलाई धेरै मतान्तरले जित्ने १० जनामा सापकोटा पनि पर्छन् ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपाका स्थायी समिति सदस्य एवम् संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिका संयोजक समेत रहेका छन् । साथै, उनी संसदको अन्र्तराष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिका संयोजक समेत हुन् ।  उनी तत्कालिन माओवादी केन्द्रको प्रवक्ता समेत रहेका थिए । प्रचण्डका नजिकका नेता मानिने सापकोटालाई पार्टीको प्रभावशाली नेताको सूचिमा राखेर हेरिन्छ । उनकी श्रीमति तारादेवी पनि माओवादीको तत्कालिन क्षेत्रीय सदस्य तथा तत्कालिन माओवादीको सल्लाहाकार हुन् ।

प्रतिक्रिया दिनुहोस