aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

निजीक्षेत्रलाई कसेर कर उठाउने पक्षमा छैनौ : अर्थमन्त्री

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • सोमबार, १३ माघ २०७६
निजीक्षेत्रलाई कसेर कर उठाउने पक्षमा छैनौ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार राजस्व लक्ष्य प्राप्तिका लागि निजीक्षेत्रलाई कसेर कर उठाउने पक्षमा नभएको बताउँदै निजीक्षेत्रलाई नडराउन आग्रह गरेका छन् । ६८ औं भन्सार दिवसको अवसरमा आइतवार आयोजित कार्यक्रममा उनले भन्सार राजस्वमा केन्द्रित भएर अर्थतन्त्र लामो समयसम्म नचल्ने बताउँदै सरकार भन्सार राजस्वमा केन्द्रित नभएको बताए ।

निर्यातलाई प्रवर्द्धन गर्न आयातमा गरिएको कडाइका कारण राजस्व केही घटेकोमा यसमा डराउन नपर्ने तर्क उनको थियो । लक्ष्यअनुसार राजस्व उठ्दैन कि भनेर अतिरिक्त त्रास व्यवसायीमा रहेकोमा भन्सार राजस्व केन्द्रित नभएको उनको भनाइ थियो ।

उनका अनुसार लगानीमैत्री वातावरण निर्माण, औद्योगिक विकास र निर्यातमुखी बजारमा सरकार केन्द्रित छ । ६ महीनामा लक्ष्यअनुसार राजस्व नउठेकोमा आफू नडराएको र व्यवसायीलाई दुःख पनि नदिएको उनले बताए । ‘वातावरण प्रदूषण नगरी अर्को पुस्तालाई अप्ठ्यारो नपर्ने गरी व्यापार गरौं सरकार तपाईंहरूको साथमा छ,’ उनले भने । 

खतिवडाले निजीक्षेत्रलाई अतिरिक्त कर नलगाउने आश्वासन दिँदै बैंकिङ तरलता आगामी दिनमा पनि स्थिर राख्ने वातावरण बनाउने आश्वासन दिए ।

उनले भन्सार सन्दर्भ मूल्य नहट्ने पनि बताए । हाल भन्सार विभागले बजार मूल्यका आधारमा हरेक वर्ष सन्दर्भ मूल्यसूची तयार गर्ने गरेको छ । व्यवसायीले वास्तविक मूल्य घटाएर बस्तु आयात गरेको आशंका भएमा विभागले सोही मूल्यसूचीका आधारमा भन्सार मूल्यांकन गरी कर निर्धारण गर्ने गरेको छ । राम्रो नियतले सरकारले यो मूल्यसूची निर्धारण गरे पनि यसको गलत प्रयोग भइरहेको बताउँदै व्यवसायीले विभिन्न समयमा सन्दर्भ मूल्यसूची हटाउनुपर्ने माग राख्दै आएका छन् । 

गत साता उद्योग वाणिज्य महासंघले अयाोजनाको कार्यक्रममा राजस्व सचिव शिशिरकुमार ढुंगानाले पनि सन्दर्भ मूल्य नहट्ने बताएका थिए । अर्थमन्त्री खतिवडाले पनि अहिले नै सन्दर्भ मूल्य हटाउने बेला नभएको बताउँदै पनि सोही कुरा दोहोर्‍याए ।

प्रतिक्रिया दिनुहोस