
काठमाडौ । तरकारी तथा फलफूलमा प्रयोग हुने विषादी मानव स्वास्थ्यका लागि घातक छ । तर विषादीको मात्रा के कति प्रयोग भएको भन्ने जाँच गर्ने संयन्त्र भरपर्दो छैन ।
देशकै ठूलो तरकारी थोक बजार कालीमाटीमा पाँच वर्षअघि सरकारले द्रुत विषादी अवशेष विश्लेषण इकाई सञ्चालनमा ल्यायो । इकाई अन्तर्गतको प्रयोगशालाले तरकारीमा रसायनिक विषादीको मात्रा ९० प्रतिशतसम्म भएको तथ्य सार्वजनिक गर्यो ।
विषादीको मात्रा १० देखि १५ सम्म हुनुलाई सामान्य मानिए पनि मात्रा जति बढ्दै गयो त्यति हानिकारक हुन्छ । त्यो विषयले निकै चर्चा पायो र उपभोक्ता पनि सचेत भए ।
तर काम थालेको एकदुई वर्ष नपुग्दै प्रयोगशाला प्रयोगविहीन जस्तै छ । प्रयोगशाला सञ्चालनका लागि सरकारले आवश्यक प्राविधिक जनशक्तिको पूर्ति गर्न सकेको छैन ।
सुरुमा बाली संरक्षण निर्देशनालयका बरिष्ठ बाली संरक्षण अधिकृतको नेतृत्वमा पाँच प्राविधिक जनशक्तिबाट काम सुरू भएको थियो । अहिले केन्द्रीय कृषि प्रयोगशालाका एक जना मात्रै कृषि प्राविधिक (जेटीए) को भरमा छ्र प्रयोगशाला । प्रयोगशाला एक जना कार्यालय सहयोगी र कृषि प्राविधिक जाग्येश्वर शर्मा सिङ्गैको जिम्मामा जेनतेन काम हुँदैछ ।
पहिले दैनिक २०र२२ वटा तरकारीका नमूना सङ्कलन गरेर परीक्षण गर्ने गरेकोमा अहिले मुस्किलले दैनिक तीन÷चार वटा मात्रै नमूना हेरिन्छ । सरकारले अन्य प्रदेशमा पनि तरकारी तथा फलफूलको परीक्षण गर्ने गरी प्रयोगशाला सञ्चालनमा ल्याएको छ तर तीनको पनि कालीमाटीकै जस्तै छ ।
कालीमाटी थोक बजारमा थोक, खुद्रा र किसान बजार गरी झण्डै एक हजारको हाराहारीमा पसल छन् । दुई कोठामा सीमित प्रयोगशाला जम्मा दुई जना कर्मचारीले आफै नमुना संकलनमा जानु पर्छ । नमुना तरकारी किन्ने बजेट छैन । व्यापारीसँग माग्नु पर्छ । तरकारी जाँचका लागि झण्डै आधा किलो तरकारी चाहिन्छ । ब्यापारी सित्तैमा नमूना दिन हिचकिचाउँछन् ।
बजारमा नमुना माग्न गयो दिँदैनन् । दिए पनि प्रयोगशालामा ल्याएर जाँच प्रतिवेदन तयार भइसक्दा नसक्दै तरकारी बिक्री भइसक्छ । सयौँ व्यापारिका बीचमा बसेर दुई जना कर्मचारीले काम गर्नु सुरक्षा चुनौती भएको भनाइ उनीहरूको छ ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले विषादी परीक्षण प्रयोगशाला जनताको आँखामा छारो फाल्ने काम मात्रै भएको आरोप लगाउनुभयो । गोरखापत्र दैनिकबाट ।
प्रतिक्रिया दिनुहोस