काठमाडौँ । सहकारी विभागले ऐन कार्यान्वयन नगर्दा सहकारीका संघ र महासंघहरुमा धमाधम गैरकानुनी सञ्चालक समिति चयन हुन थालेको छ । सहकारी ऐन–२०७४ ले एउटै व्यक्ति एकै पटक दुईवटा संघसंस्थामा सञ्चालक बस्न नपाइने व्यवस्था गरे पनि त्यसयता निर्वाचन भएका राष्ट्रिय सहकारी महासंघसहित जिल्ला र केन्द्रीय संघहरुमा दोहोरो पद हुनेगरी सञ्चालकहरु चुनिएका छन् ।
कानुनविपरीत सञ्चालक समिति चयन हुँदा पनि नियामक निकायले कारबाही गर्न सकेको छैन । सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघमै वरिष्ठ उपाध्यक्षसहित एक दर्जन सञ्चालक दोहोरो–तेहोरो पदमा छन् ।
वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल्सहित सञ्चालकहरु तारा लामा, खेमबहादुर पाठक, भीम तुलाचन, केबी उप्रेती, लक्ष्मण यादव, नारायण देवकोटा, अमृता सुब्बा र गणेश ढकाल विभिन्न जिल्ला तथा केन्द्रीय संघहरुमा आवद्ध छन् ।
प्रारम्भिक संस्थाहरुको समेत पद गणना गर्ने हो भने एकै व्यक्तिले तीनवटा सम्म पद ओगटेका छन् । यसैगरी सार्वजनिक पदमा भएको व्यक्ति सहकारीको सञ्चालक बन्न नपाइने भए पनि प्रदेश सभा सदस्य रहेका व्यक्ति समेत महासंघमा चुनिएका छन् ।
प्रतिक्रिया दिनुहोस