
काठमाडौं । नेपालमा हाल ६ हजार पाँच सय १८ भुटानी शरणार्थी छन् । उनीहरू झापा र मोरङका शिविरमा बस्दै आएका छन् । १९ जना भने शिविरबाहिर बस्दै आएको गृह मन्त्रालयको तथ्यांक छ ।
नेपालबाट एक लाख १३ हजार पाँच सय ४८ भुटानी शरणार्थी विभिन्न देशमा पुनस्र्थापन भइसकेका छन् । सबैभन्दा धेरै अमेरिकामा ९६ हजार एक सय ६७ पुगेका छन् । त्यस्तै, अस्ट्रेलियामा सात हजार तीन सय १५, क्यानडामा ६ हजार आठ सय ३८, न्युजिल्यान्डमा एक हजार ९६, डेनमार्कमा आठ सय ७५, नर्वेमा पाँच सय ७०, बेलायतमा तीन सय ५८ तथा नेदरल्यान्ड्समा तीन सय २९ जनाको पुनस्र्थापना भएको छ ।
अहिले सबै देशले पुनस्र्थापना कार्यक्रम बन्द गरिसकेका छन् । अस्ट्रेलियाले आफूले लगिसकेका परिवारका व्यक्ति नेपालमै भए जान छुट दिएको छ, जसअनुसार हालसालै दुई सय ९१ भुटानी शरणार्थी अस्ट्रेलिया पुगेका हुन् ।
पुनस्थापना बन्द भएपछि बाँकी शरणार्थीलाई के गर्ने भन्ने चिन्ता गृह मन्त्रालयको छ । सरकारले त बाँकी भुटानी शरणार्थीलाई भुटान नै फर्काउने प्रयास गरिरहेको छ । गत ३ मंसिरको मन्त्रिपरिषद्को निर्णयले भुटानी शरणार्थीको स्वदेश फिर्तीका लागि भुटान सरकारसमक्ष अनुरोध गर्ने प्रस्ताव पास गरेको थियो । तर, भुटानले फिर्ताका लागि चासो नदिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
यस्तै, शिविरमा उनीहरूको समस्या समाधानका लागि कार्ययोजना बनाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको थियो । विश्व खाद्य कार्यक्रमले उपलब्ध गराउँदै आएको खाद्यान्न सहयोग पनि बन्द भएपछि शरणार्थीका लागि खाद्यान्न समस्या छ । अहिले उनीहरूलाई चामल किन्न केही सहयोग उपलब्ध गराउने तयारी भइसकेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बाँकी भुटानी शरणार्थीलाई फिर्ता हुने वातावरण बनाउन भुटान सरकारलाई आग्रह गर्दै आएका छन् ।
नेपालमा ६० वर्षदेखि तिब्बती शरणार्थी बस्दै आएका छन् । तिब्बती शरणार्थीकै कारण नेपाल अन्तर्राष्ट्रिय चासोको केन्द्र बन्दै आएको छ । केही देशले नेपालमा रहेका तिब्बती शरणार्थीलाई चीनविरुद्ध आन्दोलन गर्न उक्साउने गरेका छन् भने चीनले चीनविरोधी गतिविधि रोक्न नेपाललाई दबाब दिँदै आएको छ । नेपाल अन्तर्राष्ट्रिय चेपुवामा परेको छ । तर, तिब्बती शरणार्थीको समस्या समाधानका लागि सरकारले कुनै पहल थालेको छैन ।
‘तिब्बती शरणार्थीको व्यवस्थापनबारे तत्काल कुनै योजना छैन,’ गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी भन्छन्, ‘हाम्रो देशमा शरणार्थीसम्बन्धी कानुन छैन, त्यसकारण के गर्ने भन्ने योजना बनेको छैन ।’
तिब्बतलाई चीनले नियन्त्रणमा लिएपछि सन् १९५९ मा दलाई लामा र उनका अनुयायीहरू चीनबाट भागेर नेपाल आएका थिए । दलाई लामासहित उनका धेरै अनुयायी भने भारतको हिमाञ्चलमा बस्दै आएका छन् । केही नेपालमै छन् । सन् १९९३ को गणनाअनुसार १३ हजार पाँच सय चार तिब्बती शरणार्थी नेपालमा थिए । उनीहरूलाई सरकारले शरणार्थी परिचयपत्रसमेत दिएको थियो । सोही परिचयपत्रका आधारमा ट्राभल डकुमेन्ट लिएर कतिपय तिब्बती तेस्रो मुलुक पुगिसकेका छन् । नयाँ पत्रिका दैनिकबाट ।
प्रतिक्रिया दिनुहोस