aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सुन किनेर राख्नेले आठ महिनामै तोलामा साढे १६ हजार कमाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ माघ २०७६
सुन किनेर राख्नेले आठ महिनामै तोलामा साढे १६ हजार कमाए

काठमाडौं । सुनमा लगानी गर्नेले छोटो समयमा उच्च नाफा गरेका छन् । ८ महिनामै तोलामा साढे १६ हजार आम्दानी भएको हो ।

अन्य क्षेत्रमा लगानी गर्नेलेभन्दा सुनमा लगानी गर्नेले बढी नाफा आर्जन गरेका छन् । ८ महिनामा सुनको मूल्य ह्वात्तै बढेपछि लगानी गर्नेले राम्रो आम्दानी गर्न सफल भएका हुन् ।

गत जेठ १५ गते प्रतितोला सुनको भाउ ५९ हजार ५ सय रुपैयाँ थियो। उक्त सुनको मूल्य हिजो (मंगलबार) ७६ हजार रुपैयाँमा कारोबार हुन पुग्यो । जेठ १५ पछिको यो ८ महिनामा प्रतितोला साढे १६ हजार रुपैयाँले बढन पुगेको छ । ८ महिना पहिला सुन खरिद गर्नेले अहिले बिक्री गर्दा तोलामा साढे १६ हजार रुपैयाँ कमाएका हुन् ।

८ महिनाको अवधिमा  शक्तिशाली राष्ट्र चीन र अमेरिक, इरान र अमेरिकबीचको तनावले विश्व बजारमा सुनको भाउ बढेकाले स्थानीय बजारमा पनि सुनको मूल्य बढ्दा सुनमा लगानीकर्ताले नाफा कमाएका नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । 

शक्तिशाली मुलुकबीचको द्वन्द्वका कारण सुनको भाउ बढेकोले पहिले किन्नेले धेरै नाफा कमाउन पुगेको व्यवसायीहरु बताउँछन् । अन्य क्षेत्रमा लगानी गर्नेले भन्दा सुनमा लगानी गर्नेले छोटो समयमा धेरै कमाउन सफल हुन पुगेका हुन् ।

विश्व बजारमा नै सुनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस करिब १ हजार ५ सय डलर पुगेको छ । यसले गर्दा स्थानीय बजारमा पनि सुनको भाउ बढन पुगेको हो ।

प्रतितोला ७६ हजार ५ सयसम्म पुगेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । त्यो रेकर्डलाई पच्छाउँदै सुनको भाउ बढेको छ ।

मूल्य बढ्दा सुनको मागमा भने कमी आएको छ । सुनको खपत हुन छाडेपछि बैंकले ल्याएको सुन बैंकमै थन्किएको छ ।

सुनको भाउ उच्च भएपछि सुनको मागमा कमी आएको व्यवसायीहरु बताउँछन् । सुनको मूल्य अचाक्ली बढेकाले यस्तो अवस्था आएको उनीहरुको भनाइ छ।

सुनको मूल्य उच्च भएपछि पसलमा पुरानो सुन बिक्री गर्नेको घुइँचो लागेको छ।  सात महिनाअघि प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको सुन बढेर ७६ हजार रुपैयाँ पुगेपछि सुन बिक्री गर्ने बढेको हो।

सुन किन्न आउनेभन्दा बिक्री गर्ने बढेको व्यवसायीहरुको भनाइ छ । सुनको मूल्य बढेको बेलामा बिक्री गर्दा फाइदा हुने भएकाले बिक्री गर्न आउने बढेको उनीहरु बताउँछन् । 

सामान्य नागरिकले ढिक्का सुनभन्दा पनि बनाएका सुन किन्ने भएकाले त्यही सुन बिक्री गर्न आउने व्यापारीको भनाइ छ। 
सुन महँगो भएको बेला पुराना हार, नेकलेस, चुरालगायतका सुनका गरगहना बिक्री गर्ने धेरै हुन्छन् । भाउ बढेदेखि नै सुन बिक्री गर्नेको चाप पर्ने व्यवसायी बताउँछन् । त्यसैगरी, मूल्य घट्दा सुन किन्ने बढ्छन्  सुनको मूल्य बढदा माग भने स्वात्तै घटने गर्छ । 

सरकारले चार्डपर्व (सिजन)मा दैनिक २५ किलो र अन्य समय (अफ सिजन) मा भने दैनिक २० किलो मात्रै सुन ल्याउन दिँदै आएको छ ।
सुनको मूल्य बढ्दा बिक्रीमा कमी आउने र मूल्य घट्दा बिक्री बढी हुने गरेको अनुभव पनि ती बैंकरले सुनाए ।

सुनमा गरिएको लगानीलाई सबैभन्दा सुरक्षित मानिने गर्छ । लगानीकर्ताले सेयर र डलर खरिद गर्न छाडेर सुन खरिद गर्न थालेपछि भाउ बढ्न पुगेको हो । 
 

प्रतिक्रिया दिनुहोस