
भारत । भारतको निर्भया बलात्कार हत्याकाण्डका आरोपी चारमध्ये एक विनयकुमार शर्माले मृत्युदण्डबाट छुटकारा पाउँ भन्दै अन्तिम पटक राष्ट्रपति रामनाथ कोविन्दसँग आग्रह गरेका छन् । बुधबार शर्माले मृत्युण्डबाट छुटकारा पाउँ भन्दै याचिका निवेदनपत्र पठाएका हुन् ।
यसभन्दा अघि पनि निर्भया मुद्दाका अर्का दोषी मुकेशले पठाएको दया याचिका खारेज गरिएको थियो । अदालतले फैसला गरेको फाँसी कार्यान्वयनको समयतालिका नजिकिँदै गर्दा उनीहरुले यसबाट बच्न विभिन्न रणनीति अपनाइरहेका छन्। त्यस्तै अर्का दोषी अक्षयसिंह ठाकुरले पनि सर्वोच्च अदालतमा सुधार याचिका दायर गरेका थिए । उनको निवेदनलाई भने अदालतले सुनुवाईका लागि स्वीकार गरेको छ ।
दोषी अक्षय ठाकुरको उपचारात्मक याचिकामाथिको सुनुवाई भने सर्वोच्च अदालतका पाँच जना न्यायाधीशहरुको बेञ्चले गर्ने जनाइएको छ । यो सुनुवाइ बिहिबार एक बजेको लागि निर्धारित गरिएको छ । दिल्लीस्थित पटियाला हाउस अदालतले जारी गरेको मृत्युदण्डको फैसलाअनुसार चार अभियुक्तहरू अक्षय सिंह ठाकुर, विनयकुमार शर्मा, मुकेश सिंह र पवन कुमार गुप्तालाई फेब्रुअरी १ मा बिहान ६ बजे झुण्डयाइनेछ।
सन् २०१२ डिसेम्बर १२ को राति नौ बजे एकजना महिला र उनका केटा साथी बस चढेका थिए। बसका चालक र अन्य पाँच पुरुषले ती महिलालाई सामूहिक बलात्कार गरे र उनका केटा साथीलाई नराम्ररी कुटपिट गरेका थिए । नग्न र रक्ताम्य अवस्थामा उक्त जोडीलाई बाटोको छेउमा फालियो। बाटो हिँडिरहेका केही मानिसले उनीहरूलाई देखेपछि अस्पताल पुर्याए र प्रहरीलाई खबर गरे। महिलाको पन्ध्र दिनपछि मृत्यु भएको थियो। एजेन्सी
प्रतिक्रिया दिनुहोस