aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
मौसमले साथ नदिएपछि सगरमाथा गएका हजार व्यक्ति आधार शिविरमै, फानीको असरले अझै चारदिन आरोहणमा समस्या

सगरमाथा गएका हजार व्यक्ति आधार शिविरमै, फानीको असरले अझै चारदिन आरोहणमा समस्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ बैशाख २०७६
सगरमाथा गएका हजार व्यक्ति आधार शिविरमै, फानीको असरले अझै चारदिन आरोहणमा समस्या

काठमाडौ । मौसमले साथ नदिएपछि सर्वोच्च शिखर सगरमाथा आरोहणका निम्ति गएका एक हजार भन्दा बढी व्यक्ति आधार शिविरमै छन् । ‘विगत तीन चारदेखिनेको हावा र खराब मौसमका कारण आधार शिविरबाट टोली अगाडि बढ्न सकेका छैनन’, आधार शिविरमै रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले भने ।

उनका अनुसार सामुन्द्रिक आधी फानीका कारण सगरमाथा क्षेत्रमा पनि हिमपात, हावाहुरी र हिउँपहिरोको जोखिम बढाएको छ । जसका कारण आधार शिविरबाट उकालो लागेर साउथपोलसम्म पुग्नै सकिएको छैन् । जसका कारण यो वर्षको आरोहण प्रभावित भइरहेको छ । 

उनका अनुसार मौसमले साथ दिए अब तीन चारदिनपछि आरोहण सुरु हुन्छ । अहिले सगरमाथामा एक हजार भन्दा बढी व्यक्ति छन् । आधार शिवरबाट लोत्से र सगरमाथाको आरोहणका निम्ति धमाधम आरोहण टोली अगाडि बढीरहेका छन् ।

आधार शिविरमा आरोहण दलका सदस्य, गाइड, भरीयासहितको जम्बो टोली पुगेको र शिखर चुम्न एकपछि अर्को व्यक्ति लालायित हुँदै अगाडि बढिरहेको पनि आधार शिवरमै रहेका सम्पर्क अधिकृत विमल ज्ञवालीको भनाइ छ । उनका अनुसार हिमाल आरोहणको तयारी लगभग अन्तिम चरणमा छ । 

अबको दुईतीन मौसमले दिनपछि वायुको बेग कम हुने पूर्वानुमान भएको हुँदा सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहणका लागि तेस्रो क्याम्पदेखि माथि डोरी टाग्ने काम हुनेछ ।  अबको दुईतीन मौसमले  साथ दिएसम्म करिब ७०० आरोहीहरुले उल्लेखित हिमालका शिखर आरोहण गर्ने पनि ज्ञवालीको भनाइ छ ।


सगरमाथा क्षेत्रबाट हरेक वर्षको बसन्त ऋतुमा अर्बौ आर्थिक कारोबार हुने गर्छ । वर्षेनी पर्यटकीय पर्यटनमा जाने र आरोहण गर्ने तथा आर्थिक गतिविधि बढ्ने क्रम बढिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले जानकारी दिएको छ ।

विभागका अनुसार करिब ४४ करोड रुपैयाँ त सगरमाथा चुम्ने उद्देश्यले गएका आरोहीले तिरेको रोयल्टीबाटै संकलन हुने हुन्छ । शेर्पा भरिया, गाइड, सरकारी सम्पर्क अधिकृत, आरोहण दलले खानपान, आवश्यक सामान, टोलीसँगको सञ्चार, उद्दारसहितका विषयमा हुने खर्चको कारण हरेक सिजनमै अर्काे एक अर्बको कारोबार सजिलै हुने पनि उल्लेख छ ।

नेपालमा हुने हिमाल आरोहण तथा पर्वतीय गतिविधि साहसिक पर्यटनको लागि रुचाइएको छ । नेपालमा भएको यो साहसिक गतिविधि विश्वमै कहलिएकोले पनि यहाँ हुने खर्च भन्दापनि विदेशीको ड्रीम प्रोजेक्ट पूरा हुनु नै सबैभन्दा ठूलो उपलब्धी हुन्छ ।

पर्वतारोहणका क्षेत्रमामा क्रियाशील विभिन्न एजेन्सी तथा सरकारी अधिकारीका अनुसार नेपालले हिमाल आरोहण तथा यससँग सम्बन्धित आर्थिक क्रियाकलापबाट हुने आम्दानी पनि उल्लेख्य हुन्छ ।

सगरमाथा र आसपासका क्षेत्रका होटलले गर्ने आम्दानी तथा विभिन्न वायुसेवा कम्पनीले गर्ने कारोबारको एकीन तथ्यांक निकाल्न सकिएको अबस्थामा यो क्षेत्रले वास्तविक र अझै ठूलो रकमको कारोबार देखिने  पनि पर्यटन व्यवसायीको भनाइ छ ।

यो वर्ष सगरमाथा आरोहणका लागि विभिन्न ३५ विदेशी र ६ नेपाली टोली गरी कुल ३७८ जनाले आरोहण अनुमति लिएको विभागका निर्देशक सुरेन्द्र थापाको भनाइ छ ।

उनका अनुसार अहिले आरोहण सिजन भएकोले सगरमाथासहित विभिन्न हिमालका लागि १०६ टोलिका ८४२ जनाले अनुमति लिएर आरोहण गएका छन् । आरोहण रोयल्टीवापत सरकारले करिब ५० अर्बको रोयल्टी संकलन गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस