
काठमाडौं । गेरुवस्त्रधारी जोगी र बाबाहरुले अनेकौं अनैतिक धन्धा र आपराधिक क्रियाकलापहरु गरेका समाचार दिनहुँ सार्वजनिक भईरहेका छन्। तर स्वघोषित ठुला योगी र महाराजको पगरी गुथेका ठगहरु भने यस्ता कुराबाट थोरैपनी बिचलित भएका देखिंदैनन्। उनीहरुको ठगी धन्धा चलिरहेको छ । खुलेआम मानिसहरुलाई लुटिरहेका छन् ।
यस्तै एउटा ठगको नाम हो, विजय भण्डारी उर्फ 'बालयोगेश्वर महाराज'। गुल्मी धुर्कोटबस्तु घर भएका उनि ठगी पेशामा माहिर रहेको खुलासा भएको छ । उनले धार्मीक कार्यक्रमका लागि अमेरिका लगेर उतै सेटल गराईदिन्छु भन्दै कयौँसंग करोडौं रकम ठगेका छन् । सतहमा हेर्दा उनि भागवत वाचन गर्ने पण्डित हुन् तर उनको धन्धा भने अलग छ ।
भण्डारीले अमेरिका लैजाने भन्दै सयौंसँग अवैध रूपमा रकम उठाएपछि हाल कलंकीमा रहेको आश्रममा उनि नियमित बस्न छोडेका छन् । उनले एक समय नवलपरासीको कावासोतीका स्थानीय नर्मदेश्वर शिवालय मन्दिरको व्यवस्थापन समितिलाई फकाएर आफूलाई पिठाधीश घोषणा गरेका थिए । तर, कथित महाराजले अमेरिका लैजाने भन्दै मानिसलाई ठग्ने गरेको थाहा पाएपछि व्यवस्थापन समितिले उनलाई पिठाधीशबाट निष्कासन गर्यो ।
पिठाधीशबाट निकालिए पनि भण्डारीले आफ्नो पेशा भने छाडेका छैनन्। विभिन्न ठाउँमा यज्ञ, होम र धान्याचल महायज्ञ सञ्चालन गर्दै आएका छन् । उनि कति बाठा भने धार्मिक कार्यक्रम आयोजना गर्न पहिले मानिसलाई उक्साउछन्। सुरुमा लक्ष्य अनुसारको रकम नउठे आफूले कुनै रकम नलिने भनेर आयोजकसंग बाचा गर्छन्। तर, यज्ञ सकिएपछि उठेको रकम एक्लैल कुम्ल्याएर हिड्ने गरेका कारण बारम्बार विवादमा आइरहन्छन् ।
महायज्ञका नाममा शृंखलाबद्ध ठगी धन्दा चलाएका विजय भण्डारीविरूद्ध प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखामा दर्जनौ जाहेरी परेको समाचार स्रोत बताउँछ । २८ जना पीडितले एक करोड २७ लाख ६० हजार ठगिएको भन्दै प्रहरीमा उजुरी गरेपछि उनी २०७१ असोजमा पक्राउ समेत परेका थिए ।
जेल त पानी पँधेरो
२०७३ मंसिर ६ मा काठमाडौंले जिल्ला अदालतका न्यायाधीश हरिप्रताप केसीको इजलासले विष्णु प्रपन्नाचार्य बताउने विजय भण्डारीलाई २ वर्ष ६ महिना कैद र ८१ लाख ८५ हजार बिगो जरिवानाको फैसला गरेको थियो । त्यसअघि उनी पुर्पक्षका लागि सुन्धारास्थित केन्द्रिय कारागारमा २०७१ असोज ६ गते पुर्पक्षका लागि थुनामा पुगेका थिए । अदालतको फैसलापछि कैद सजाय भुक्तान गरेर उनी २०७३ चैत १४ मा रिहा भएका थिए ।
त्यसो त जिल्ला अदालतको फैसलालाई चुनौती दिँदै महाराज उच्च अदालत पाटन पनि पुगे । २०७५ मंसिर ११ मा उच्च अदालतले जिल्लाकै आदेश सदर गरिदियो । अदालतबाट पीडितकै पक्षमा फैसला भए पनि त्यतिबेला ठगिएकाहरूले पैसा भने अझै पाएका छैनन् । महाराजको यो पहिलो जेल यात्रा भने थिएन । २०६९ कात्तिक १४ पनि ठगी मुद्दाको उजुरीपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेर वैदेशिक रोजगार विभागलाई बुझाएको थियो ।
बुटवलका रमेश खनाल, काठमाडौं मच्छेगाउँका प्रकाश ढुंगाना र कीर्तिपुरका प्रमोदकृष्ण अधिकारीले उनीविरुद्ध वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगारी ठगी मुद्दामा जाहेरी दिएका थिए । विभागले अनुसन्धान गरी उनीविरुद्धको मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणको कार्यालयमा दर्ता गरेको थियो ।
लामो बहसपछि न्यायाधिकरणको कार्यालयले २०७५ जेठ २७ गते उनलाई एक वर्ष ६ महिना कैद र १ लाख ५० हजार बिगो जरिवाना ठहर गरेको थियो । मुद्दा सुनवाइकै क्रममा उनी २०६८ साउन ३२ मा एक दिन, २०६८ फागुन ११ मा एक दिन र २०६९ कात्तिक १४ मा दुई दिन मुद्दाको पुर्पक्षका लागि थुनामा परेका थिए ।
थुनामा बसेको दिन कटाएर उनले एक वर्ष ५ महिना २७ दिन कैद सजाय भुक्तान गर्नुपर्ने देखिन्थ्यो । फैसलाको निर्णय पनि बुझ्न नआएपछि न्यायाधिकरणको कार्यालयले अन्तिम फैसलाको सूचना उनको घरमा टाँस गर्न भन्दै २०७५ चैत २४ गते जिल्ला अदालत गुल्मीलाई पत्राचार गरेको थियो । उनको घर नभेटेपछि धुर्कोट गाउँपालिका– ५ को वडा कार्यालयको भित्तामा फैसला टाँस गरेका थिए । न्यायाधिकरणको फैसलापछि उनी स्वतः फरार अभियुक्तका रूपमा दरिएका थिए । प्रहरी र कानुन कार्यान्वयन गर्ने जुनसुकै सरकारी निकायले उनलाई पक्राउ गरेर बुझाउन सक्थे । तर राजनीतिक कनेक्सनका आधारमा उनी लुकिछिपी धार्मिक गतिविधिमा सक्रिय भइराखे ।
गत भदौ २८ देखि असोज ११ सम्म गुल्मीको रिडीमा आयोजित महायज्ञमा महाराज उपस्थित हुने सुइँको पाएपछि जिल्ला प्रहरी कार्यालयले उनलाई पक्राउ गर्ने तयारी थालेको थियो । जिल्ला अदालत गुल्मीको फैसला कार्यान्वयन गर्न प्रहरी, प्रमुख जिल्ला अधिकारीको बैठकसमेत बसेको थियो । तर चलाख ठगले पक्राउबाट जोगिन न्यायाधिकरणको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको थाहा पाएपछि प्रहरी पछि हट्यो । उनले पक्राउ परिने डरले नाम नै बालयोगेश्वर महाराज राखे । ठगी मुद्दाकै कारण महाराज गत वैशाखमा १९ दिन डिल्लीबजार कारागारमा थुनामा बसेका थिए । गत वैशाख १३ मा जेल परेर ३१ गते थुनामुक्त भएको डिल्लीबजार कारागारको अभिलेखमा देखिन्छ ।
महायज्ञ नै अलपत्र
पच्चिस करोड रुपैयाँ उठाउने लक्ष्य राखेर आयोजना गरिएको एक महिने भरतपुर महानगरपालिका–२३ मा रहेको पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले शनिबारदेखि नारायणगढस्थित नारायणी नदी किनारमा एक महिने महायज्ञ सुरु भएको छ । ऐतिहासिक १०८ कुण्डीय कोटीहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोत्तरसत (१०८) श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ नाम दिएर महायज्ञ सुरु भएको हो ।
महायज्ञबाट २५ करोड रुपैयाँ उठाउने लक्ष्य रहेको छ । भरतपुर–२३ को पशुपतिनाथ मन्दिरलाई बृहत् धामका रूपमा विकास गर्ने, चितवनमै पहिलो आयुर्वे्िदक शिक्षालय खोल्ने र क्यान्सर रोगबाट पीडित विपन्न परिवारलाई सहयोग गर्न यज्ञ आयोजना गरिएको बताईएको छ । तर महायज्ञका प्रमुख बाचक नै ठग भएको थाहा पाएपछिउनको प्रवचन सुन्न आउने मानिस पातलीन थालेका छन् ।
यसबीच, आफ्नो ठगी धन्दाको बारेमा विभिन्न सञ्चारमाध्यममा समाचार बाहिरिन थालेपछि महायज्ञका प्रमुख वाचक ’बालयोगेश्वर महाराज’ फरार भएका छन् । प्रमुख वाचक रहेका स्वामी बालयोगेश्वरलाइ महायज्ञ आयोजक संस्थाले नै प्रवचनमा रोक लगाएपछि उनि फरार भएको बुझिएको छ । उनि फरार भएपछि महायज्ञ आयोजकले नयाँ वाचक ल्याई कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनि महाराज होइनन् महाठग हुन भन्ने समाचार सार्वजनिक भएपछि यतिबेला महायज्ञ नै विवादमा परेको छ ।
झन्डै फँसे उपराष्ट्रपति
केहि दिन अघि उपराष्ट्र्रपति नन्दबहादुर पुन नारायणी नदी किनारमा हुने १०८ कुण्डीय कोटीहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोत्तरशत श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञको उद्घाटन गर्न चितवन पुगे । त्यहाँ उनलाई खादा र फूलमालासहित स्वागत गर्न सबै तम्तयार थिए ।
भरतपुर विमानस्थलमा उत्रेपछी उपराष्ट्रपति नन्दबहादुर पुनले आफूलाई बालयोगेश्वर महाराज बताउने विजय भण्डारीको ठगी र जालझेलका धन्दाबारे थाहा पाए। त्यसपछी उनि महायज्ञ उद्धघाटन नै नगरि फर्किए । २५ करोड रुपैयाँ उठाउने लक्ष्य राखेर आयोजना गरिएको एक महिने यज्ञका मुख्य वक्ता नै ठगी पृष्ठभूमिका भएको खबर थाहा पाएपछि उपराष्ट्रपति विवादमा तानिने सम्भावना देखियो भन्दै फिर्ता भए । उपराष्ट्रपति फिर्ता भएपछि निर्धा्िरत समयभन्दा ढिलो गरी चितवन जिल्ला समन्वय समितिकी उपाध्यक्ष मुनाकुमारी श्रेष्ठलाई महायज्ञको प्रमुख अतिथी बनाएर यज्ञ सुरु गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस