काठमाडौँ। देशकै ठूलो कालीमाटी फलफूल तथा तरकारी बजारका स्टल नियमविपरीत ओगटेर बसेका व्यापारीलाई कारबाही गर्न नसक्दा लाखौँ रुपियाँ नोक्सान हुनुका साथै अराजक अवस्थालाई प्रोत्सान भइरहेको छ । कालीमाटी तरकारी तथा फलफूल विकास समितिले २०७५ साल असोज २ गते हटाउने भनिएका ३१ व्यापारीले अहिलेसम्म अदालतको मुद्दा देखाउँदै स्टल ओगटेर भाडा नै नतिरी व्यापार गर्दै आएका छन् ।
समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले ३१ वटा स्टलका व्यापारीले बजारको नियमविपरीत व्यापार सञ्चालन गरिरहेको स्वीकार गरे । बारम्बार हट्नका लागि सूचना निकाले पनि उनीहरूले अटेर गरिररहेकाे उनकाे भनाइ छ । उनका अनुसार समितिले एक महिने, १५ दिने र सात दिने गरेर तीन/चारपटक सूचना निकाल्नुका साथै, स्टलैपिच्छे पत्र काटिएकाे छ । तर पनि व्यापारीले बेवास्ता गर्दै हट्न मानेका छैनन् ।
व्यापारीलाई स्टल हटाउन निर्देशन दिएपछि हामीले भाडा लिएका छैनौँ, निर्देशक पौडेलले भन्नुभयो, व्यापारीले अटेर गरिदिँदा हामीलाई महिनाको करिब साढे दुई लाख घाटा लागेको छ । समितिका अनुसार प्रतिस्टल भाडा न्यूनतम १२ हजारदेखि बढीमा २० हजार रूपैयाँ लिने गरिएको छ । ती स्टलका व्यापारीले २०७५ असोज २ गतेदेखि भाडा तिरेका छैनन् ।
यी स्टललाई हटाउन स्टल वितरणको कार्यविधि बनेर कार्यान्वयनको तयारीमा छ तर बोर्ड बस्न नसकेका कारण कार्यान्वयन हुन नसकेको जानकारी कार्यकारी निर्देशक पौडेलले गराए । कृषि तथा पशुपन्छी मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले भने कालीमाटी समितिमा यही साता वा नसके अर्को सातासम्म अध्यक्ष नियुक्त हुने जानकारी दिए ।
सरकारले कालीमाटी बजारको अनियमिततालाई ध्यान दिँदै गत भदौ महिनामा अनुगमन गरेर बिचौलिया र बजार नियमविपरीत व्यापार गर्ने व्यापारीलाई हटाउन निर्देशन दिएको थियो । सो निर्देशनबमोजिम समितिले गएको असोजमा कालीमाटी र बालाजुको तरकारी बजारमा बजारको नियमविपरीत व्यापार गर्ने ५८ जना व्यापारीको कारोबार खारेज गर्ने निर्णय गरेको थियो ।
तीमध्ये २७ जना व्यापारीले समितिको निर्णयविरुद्धमा अदालतमा गरेको मुद्दा विचाराधीन छ । बाँकी ३१ जनालाई बजारबाट हटाउनका लागि पटकपटक निर्देशन दिए पनि व्यापारीले अटेर गरिरहेका छन् । २०७५ साल असारमा तत्कालीन कृषि तथा पशुपन्छी विकासमन्त्री, राज्यमन्त्री सचिवलगायतका पदाधिकारीबाट पटक–पटक भएको बजारको अनुगमन र निर्देशनपछि समितिले समितिअन्तर्गत ६०७ वटा व्यापारीको वर्गीकरण गरेको थियो ।
जसअनुसार ९८ जनालाई रातो स्टिकर, १३१ व्यापारीलाई नीलो स्टिकर, २०८ व्यापारीलाई पहेँलो र १७० व्यापारीलाई सेतो स्टिकर उपलब्ध गराएको थियो ।
प्रतिक्रिया दिनुहोस