aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

के गर्दैछन् महरा डिल्लीबजार कारागारमा ?

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • शुक्रबार, १७ माघ २०७६
के गर्दैछन् महरा डिल्लीबजार कारागारमा ?

काठमाडौँ। पूर्वसभामुख कृष्णबहादुर महरा जबर्जस्ती करणीको अभियोगमा करिब तीन महिनादेखि पुर्पक्षका लागि थुनामा छन् । कात्तिक २५
गतेदेखि डिल्लीबजार कारागारमा रहेका उनलाई भेट्न जानेहरूको लर्को नै लाग्ने गरेको छ। उनलाई भेट्न जानेहरू प्राय: जनमानसमा परिचित र शीर्षनेताहरू होलान् भन्ने धेरैलाई लाग्न सक्छ। 

तर, उनलाई भेट्न सामान्य कार्यकर्ता र आफन्तबाहेक भिआइपी भने जाँदैनन् । 'अरू कैदीलाई भेट्न फाट्टफुट्ट रूपमा भए पनि शीर्ष नेताहरू आइरहेका हुन्छन्,' कारागार प्रशासनका एक कर्मचारीले भने, 'तर महराज्यूलाई भेट्न शीर्ष नेताहरू कोही नआएको देख्दा अनौठो लागेको छ।'
राज्यको पाँचौं वरीयताका व्यक्ति जबर्जस्ती करणीको मुद्दामा जेल चलान भएको यो नै पहिलो रेकर्ड हो । त्यसकारण पनि महराले अप्ठेरो महसुस गरेको जनाइएको छ। 

कारागार स्रोतका अनुसार महरा स्वयं पनि बाहिरी व्यक्तिसँग भेट्न रुचि राख्दैनन् । कारागारका कर्मचारीले 'कस्तो छ ?' भनेर सोध्दा उनी टाउको हल्लाएर ठीक रहेको संकेत गर्छन्। सञ्चारकर्मी वा कर्मचारीसँग त झन् उनी भेटने इच्छा नै राख्दैनन् । कारागार चलान भएलगत्तै उनले कर्मचारीसँग पत्रकार आए भेट्न नदिनू भनेका थिए। महरालाई कारागारको 'क' ब्लकको दुई नम्बर कोठामा राखिएको छ।

चार भवन (ब्लक) का आठ कोठा (हल) मा २५/३० जनाका दरले कैदीहरूलस्करै सुत्छन् । उनको कोठामा अन्य २५ कैदी राखिएका छन् । स्रोतका अनुसार महरा दायाँबायाँका कैदीसँग खासै बोल्दैनन् । 'कैदीको अवस्था बुझ्न भित्र छिर्छौँ, भिआइपीहरूको अवस्था नियाल्छौं,' कारागारका एक कर्मचारीले भने, 'महराले निकै अप्ठेरो महसुस गरिरहनुभएको अनुभव हुन्छ, केही बोल्नुहुन्न।'

कारागारका जेलर अरूण पोखेलका अनुसार महरालाई भेट्न आउने राजनीतिक नेताभन्दा कार्यकर्ता बढी छन्। महरा जेलमा बसेको तीन महिना बित्न लाग्दा उनलाई भेट्न १० हजारभन्दा बढी आगन्तुक पुगिसकेका छन्। दैनिक ३० जनाको हाराहारीमा आगन्तुक उनलाई भेट्न कारागार पुग्छन् । 'महरा शान्तसँग बसिरहनुहुन्छ, जेलर पोखेलले भने, 'उहाँलाई भेट्न आउनेको संख्या बढी छ, आगन्तुकसँग गफ गरेर दिन बिताउनुहुन्छ।

घरकै खाना कारागारभित्र महराको बिहान ६ बजेदेखि दैनिकी सुरु हुन्छ। उठ्ने बित्तिकै उनी केही बेर ओछ्यानमै योग गर्छन् । एकछिन हातपाखुरा र जिउ तन्काएपछि कारागारकै कम्पाउन्डमा चार/पाँच फन्को मार्छन्। लगत्तै तातोपानी, चिनीबिनाको चिया र रोटी, 'फलफूल आदि खान्छन् । उनका लागि प्रायः घरबाटै खानेकुरा आइपुग्छ।

बिहान ९ बजेतिर पत्रपत्रिका पढ्न पुस्तकालय छिर्छन् । १० बजे खाना खान कोठाभन्दा बाहिरपट्टि कुर्सीमा आउँछन् । कहिलेकाहीं भने कारागारभित्रकै क्यान्टिनमा खान्छन्। कोठामा छिरेर केही बेरको आरामपछि उनी ११ बजे आगन्तुक भेट्न र घाम ताप्न बाहिर निस्कन्छन् । 
दिउँसो २ बजे आफन्तसँगै खाजा खान्छन्। त्यसपछि ५ बजेसम्म कोठाबाहिरै बस्छन् । साँझ परेसँगै खाना खाएलगत्तै उनी सुगर र प्रेसरको औषधि सेवन गर्छन्। महराले आफ्नो सिरानीनजिक केही पुस्तक राखेका छन् । उनी आफन्त नआएका बेला किताब र पत्रपत्रिका पढ्छन् । बेलुकी ९ बजे उनको सुत्ने समय हो।

प्रतिक्रिया दिनुहोस