
गोरखा । गोरखा नगरपालिका–१० अमलापानीकी ५२ वर्षीया मनमाया तामाङ दूध बेच्न भन्दै घरबाट बिहान ६ बजे नजिकैको छेपेटार बजारतर्फ जाँदै गर्दा टिपरले ठक्कर दिँदा मृत्यु भएकाे छ ।
छेपेटार जाने बाटोमा गोरखकाली क्रसर नजिकै शुक्रबार करिव पौने ७ बजे क्रसरको छेउबाट हिँडिरहेकी मनमायालाई टिपरले ठक्कर दिएकाे हाे ।
ठक्करबाट भुइँमा लडेकी मनमायालाई टिपरले ब्याक गरेर किचेर मारेको आरोप स्थानीयले लगाएका छन् । टिपरको ठक्करबाट मनमायाको घटनास्थलमै मृत्यु भएको हो वा कोइन अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ ।
ग१ख ८०२७ नम्बरको टिपरले मनमायालाई किचेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी बासुवेद खतिवडाले जानकारी दिए । बाक्लो कुहिरोको कारण बाटो राम्रोसँग नदेखेपछि टिपरले ठक्कर दिएको हुनसक्ने डीएसपी खतिवडाको भनाइ छ ।
डीएसपी खतिवडाको अनुसार मनमायाको मृत्युपछि आक्रोशित स्थानीयले क्रसरमा रहेका २० भन्दा बढि टिपरहरुको सिसा फुटाइदिएका छन् । यस्तै ६ वटा एक्साभेटर समेत तोडफोड गरेका छन् ।
टिपर चालक प्रहरीको नियन्त्रणमा र भीड नियन्त्रणको प्रयास भइरहेको डीएसपी खतिवडाले बताए । यतिबेला घटनास्थलमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।
क्रसर उद्योग बन्द नगरेसम्म मनमायाको शव नउठाउने स्थानीयवासीको अडान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस