
काठमाडौं । छैटौं नेपाल उड इन्टरनेसनल एक्स्पो र नेपाल इन्टरनेसनल फर्निचर एन्ड होम डेकोर एक्स्पो काठमाडाैंकाे भृकुटीमण्डपमा सुरु भएको छ ।
शुक्रबारबाट सुरु भएको एक्स्पोको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गरेका हुन् । उनले अागामी वर्षदेखि काठकाे अायात घटाउने र स्वदेशी काठ र काठ जन्य बस्तुकाे खपत बढाउन जाेड दिने बताए ।
नेपाली उद्यमी र आमनागरिकका लागि केही नयाँ उत्पादनसँग परिचित गराउने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजक संस्था मिडिया स्पेस सोलुसन्सका निर्देशक सृजल भट्टराईले बताए ।
मेलामा फर्निचर, काठ औजारका कम्पनी, डिलर, सब–डिलर र बिक्रेताहरूले काठ व्यवसायसँग सम्बन्धित उत्पादन र प्रविधिको विषयमा जानकारी पाउने उनले बताए ।
घरमा प्रयोग हुने फर्निचरका सामानदेखि लिएर इन्टेरियर डिजाइनलगायत विभिन्न उत्पादन प्रदर्शनीमा राखिएका छन् । मेलामा भारत, चीन, अमेरिका इटाली र जर्मनीलगायत विभिन्न १० देशका १७३ ब्रान्ड प्रदर्शनीमा राखिएको उनले बताए ।
मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट प्रालिको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनी आइतबारसम्म चल्ने जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस