
काठमाडौं । बाइक रियालिटी सो ‘पल्सर डेयर भेन्चर सिजन ४’का विजेता गोर्खाका जेनिस गुरुङ बनेका छन् । उनले १० लाख रुपैयाँ नगदसहित पल्सर एनएस–२०० बाइक र नेपाल बेस्ट राइडर अवार्ड पनि जितेका हुन् । जेनिससहित प्रदीप तामाङ र सौरभ केसी सिजन फोरको फाइनलमा पुगेका थिए ।
बजाज बाइकको नेपाली विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले २०१३ देखि नियमित रूपमा एडभेन्चर बाइक रियालिटी सो आयोजना गर्दै आइरहेको छ । तीनवटा सिजन नेपालमै गरेको कम्पनीले चौथो सिजनका लागि भारतको लद्दाख रोजेको थियो । लद्दाख विश्वभरिका बाइक राइडरको लोकप्रिय गन्तव्य हो ।
चौथो सिजनमा देशभरबाट ८ हजार जना राइडरले आवेदन दिएका थिए, जसमध्ये १२ जना राइडरले महेन्द्रनगरबाट भारतको बोर्डर पार गरेका थिए । बोर्डर पार गर्नेहरूमा सौरभ केसी, प्रियंका सिटौला, उर्मिला श्रेष्ठ, जयन्ती श्रीस मगर, जेनिस गुरुङ, प्रदीप तामाङ, निशान्त कुमार शाह, आकृति घले, सशांक बोहोरा, निरज महर्जन, जितबहादुर बडैला र सिजनराज महत रहेका थिए । मेलिना रायमाझी, सागर हमाल, गौरव साही र समीर थापामगर महेन्द्रनगरको बोर्डरसम्म पुगेर घर फर्किएका थिए ।
प्रतियोगी राइडर महेन्द्रनगरबाट लद्दाखको पाङओङ लेकसम्म बाइक हाँकेरै पुगेका थिए । राइडरले पल्सर बाइकमै ३ हजार किमिभन्दा लामो यात्रा गरेका थिए । यो यात्रामा राइडरले तराईको हपहपी गर्मीदेखि निकै चिसो ठाउँसम्म बाइकमा यात्रा गरेका थिए । पल्सर डेयर भेन्चरको पहिलो सिजन मुस्ताङ, दोस्रो सोलुखुम्बु र तेस्रो मनाङमा आयोजना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस