aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

खुम्चियो बैंकहरुको मुनाफा

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, १८ माघ २०७६
खुम्चियो बैंकहरुको मुनाफा

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरूलाई गाभिनका लागि सुझाव दिँदै गर्दा यसको व्यवहारिक महìव पनि खड्किन थालेको छ । चालू आर्थिक वर्षमा वाणिज्य बैंकहरूको नाफामा सङ्कुचन आउने देखिएपछि यसको व्यवहारिक आवश्यकता महसुस हुन थालेको छ ।

सार्वजनिक कार्यक्रममा अर्थमन्त्री खतिवडाले घराना मिल्ने तथा एकै प्रकृतिका कारोबार संस्थालाई एकापसमा गाभिन पुनः सुझाव मात्रै दिएनन्, बैंक तथा वित्तीय काठमाडौँ । संस्थाको सङ्ख्या कम गर्दै गुणात्मक सेवा विस्तार गर्नु जरुरी रहेको भन्दै सबल र समृद्ध बैंकिङका लागि एकापसमा मिल्न पनि आग्रह गरेका छन् । 

यद्यपि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७६ मङ्सिर मसान्तसम्म कुल १८१ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएकोमा १३८ संस्थाको इजाजत खारेज भई कुल ४३ संस्था मात्र कायम रहेका छन् ।

पुस मसान्तको समाप्तिसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरू दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नेतर्फ केन्द्रित छन् । हालसम्म आठवटा वाणिज्य बैंकहरूले वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । बैंकहरूको नियामक निकाय नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार त्रैमास सकिएको एक महिनाभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने भए पनि माघ तेस्रो साता पुग्नै लाग्दा आठवटाले सार्वजनिक गरेका हुन् ।

अहिलेसम्म एनआईसी एसिया बैंक, नेपाल बैंक लि., एभरेस्ट बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक र लक्ष्मी बैंकले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । सार्वजनिक भएको वित्तीय विवरणका अनुसार दोस्रो त्रैमासमा एनआईसी एसिया, लक्ष्मी बैंक, सनराइज बैंकले राम्रो नाफा गरेका छन् ।

एनआईसी एसियाले ३३, लक्ष्मी बैंकले २४.७६, सनराइजले १९, सानिमाले १७ र एभरेस्ट बैंकले साढे पाँच % नाफा बढाएका हुन् भने सिटिजन्स, सिद्धार्थ र नेपाल बैंकको नाफा घटेको छ । यसअघिको पहिलो त्रैमासमा पनि बैंकहरूले नाफा घटाएका थिए भने दोस्रो त्रैमासमा पनि बैंकहरूको नाफामा क्रमशः सङ्कुचन आउँदै गइरहेको देखिएको छ । कतिपय बैंकहरूले खुद ब्याज आम्दानी घटाएकाले पनि नाफामा गिरावट आएको देखिएको छ ।

वाणिज्य बैंकहरूको प्रस्तुत गरेको वित्तीय विवरणका आधारमा सानिमा बैङ्कले दोस्रो त्रैमासमा नाफा १६.८४ % बढाएको छ । चालू आर्थिक वर्षको छ महिनामा बैंकले एक अर्ब १४ करोड ७४ लाख रुपियाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ९८ करोड २० लाख रुपियाँ नाफा गरेको थियो । बैंकले अघिल्लो वर्षको तुलनामा यो वर्ष नाफा १६ करोड ५४ लाख रुपैयाँ बढेको हो ।

यसैगरी एभरेस्ट बैंकको विवरणअनुसार दोस्रो त्रैमासमा बैंकको नाफा ५.५८ % मात्र बढेको छ । पुससम्म बैंकले एक अर्ब ५० करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले एक अर्ब ४२ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गतवर्षको सोही अवधिको तुलनामा बैंकले आठ करोड रुपियाँ नाफा बढाएको छ ।

एनआईसी एसिया बैंकको चालू आर्थिक वर्षको छ महिनामा खुदनाफा ३३.३९ % बढेको छ । पुससम्म बैंकले दुई अर्ब एक करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ५१ करोड रुपियाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले गतवर्षको तुलनामा ५० करोड ४७ लाख रुपैयाँ नाफा बढाएको छ ।

नेपाल बैंकको दोस्रो त्रैमासमा नाफा साढे १८ % ले घटेको छ भने अधिकांश सूचक सामान्य छन् । बैंकले एक अर्ब ३५ करोड २३ लाख नाफा कमाएको छ । गतवर्षको सोही अवधिमा बैंकले एक अर्ब ६६ करोड १४ लाख रुपियाँ कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी घटेपछि बैङ्कको नाफा ३१ करोड रुपैयाँले घटेको हो ।

सिद्धार्थ बैंकको पनि दोस्रो त्रैमासमा नाफा घटेको छ । छ महिनामा बैंकले एक अर्ब दुई करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब छ करोड ९४ लाख रुपियाँ नाफा गरेको थियो । बैंकको नाफा झन्डै चार करोड रुपियाँ घटेको छ ।

सनराइज बैंकको भने दोस्रो त्रैमासमा खुदनाफा १९ %ले बढेको छ । छ महिनामा बैंकले ९४ करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गतवर्षको सोही अवधिमा बैंकले ७९ करोड २७ लाख रुपियाँ नाफा गरेको थियो । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा बैंकले १५ करोड रुपैयाँ नाफा बढाएको छ ।

लक्ष्मी बैंकले भने दोस्रो त्रैमासमा नाफा २४.७६ %ले बढाएको छ । छ महिनामा बैंकले ९० करोड ३० लाख रुपियाँ पुर्‍याएको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७३ करोड ३७ लाख रुपैयाँ नाफा गरेको थियो ।

सिटिजन्स बैंकले भने दोस्रो त्रैमासिकमा नाफा घटाएको छ । गत पुससम्म बैंकले ६८ करोड ७७ लाख रुपियाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ७७ करोड रुपियाँ नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंककाे नाफा झन्डै १० करोड रुपैयाँ घटेको हो ।

प्रतिक्रिया दिनुहोस