काठमाडाैँ । इयूसँगको ४७ वर्ष लामो आवद्धतापछि अन्ततः बेलायत युरोपेली संघबाट बाहिरिएको छ । युरोपेली संघबाट बाहिरिएलगत्तै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भिडियो सन्देशमार्फत अब नयाँ बिहानी आउने बताएका छन ।
बेलायत युराेपेली संघमा करिब आधा शताब्दीअघि सदस्य बनेको थियो । संघबाट बेलायत बाहिरिएको घटना विश्व राजनीतिक व्यवस्थामा ठूलो घटनाको रुपमा हेरिएको छ । बेलायती समयअनुसार गएकाे मध्यरातबाट बेलायत पूर्णरूपमा संघबाट अलग भएको हो । ‘अब देशलाई एक ढिक्का बनाएर अघि बढाउनु छ,’ भिडियो सन्देशमा उनले भनेको छन यो अन्त्य हैन अब सुरुवात हो ।’
बेलायत इयूबाट औपचारिक रुपमा बाहिरिएसँगै बेलायतले युरोपियन युनियनको झण्डा तल झारेको छ । सङ्घको सदस्यता त्यागे पनि धेरैजसो कानून अहिलेकै कायम रहने भएकाले बेलायतमा इयूबाट भएको बहिर्गमनको तत्कालै प्रभाव भने नदेखिने बीबीसीले जनाएको छ ।
संघबाट बाहिरिने विषयमा संघका अन्य सदस्यहरु र बेलायतबीच तीन वर्षदेखि वार्ता चल्दै आएको थियो । जसमा निकै राजनीतिक खटपट पनि भएको थियो ।ब्रेक्जिट पक्षधर र युरोपेली सङ्घको समर्थन गर्ने प्रदर्शनकारीहरू दुवै पक्षले -याली, उत्सव र मैनबत्ती बाल्ने कार्यक्रम आयोजना गरेका छन् ।
अब संघबाट बाहिरिएसँगै बेलायत संक्रमणकालको चरणमा प्रवेश गरेकाे छ तर परिर्वतन भने खासै हुने छैन । सदस्यता त्यागे पनि धेरैजसो युरोपेली सङ्घका कानुनहरू कायमै रहने छन् ।
जस्तो कि यसै सालकाे डिसेम्बरको अन्त्यसम्म मानिसहरू स्वतन्त्र रूपमा आवतजावत गर्न सक्नेछन् । त्यति बेलासम्म स्थायी रूपमा खुला व्यापार सम्झौता युरोपेली सङ्घसँग गरिसक्ने लक्ष्य बेलायतले राखेको छ । लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ब्रेक्जिटपछि देश अघि बढिरहनु पर्ने र संघसँग राम्रो सम्बन्ध बनाइराख्नु पर्ने धारणा राखेका छन् । उनले ठोस आधारबिना अमेरिकासँग सम्झौत गर्न नहुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस