काठमाडौं । प्रदेश २ का आठै जिल्लामा अब छोरी जन्मनेवित्तिकै तीन लाखको बिमा हुनेछ । ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत प्रदेश सरकारले गरिदिँदै आएको एक लाखको बिमामा रकम थपिदिएको हो ।
प्रदेश मन्त्रिपरिषदको शुक्रबारको बैठकले बिमाका लागि दिने गरिएको रकम तीन लाख पुर्याउने निर्णय गरेको हो । नपढाउने र उमेर नपुगी बिहे गरिदिने चलनलाई फेर्न छोरीले परिवारबाट २० वर्षसम्म शिक्षा आर्जनको सुविधा पाएको खुलेपछि मात्रै बिमाको रकम भुक्तानी पाउनेछन् ।
‘प्रदेश २ का छोरीहरु अब जन्मनेवित्तिकै तीन लखिया हुनेछन्,’ मुख्यमन्त्री लालबाबु राउतले भने, ‘छोरी बोझ होइनन्, शिक्षा र राम्रो व्यवहार गरे छोरासरह नै काबिल हुनेछन् ।’ यो समाचार आजको कान्तिपुरमा छ।
त्यसैगरी, आजको अन्नपुर्ण पोष्टमा २०७५ माघ १ पछि प्रदेशका आठै जिल्लामा जन्मेका छोरीहरुको १ लाखको शिक्षा बिमा गर्ने घोषणा गरेको सरकारले सो रकमलाई अर्को वर्षमा तेब्बर बनाएको खबर छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले रकम बढाएर ३ लाख गर्ने निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतले बताएका छन्। राउतले मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी बिमाको रकम बढाइएको जानकारी गराएका हुन्।
सरकारको निर्णयको कार्यान्वयन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पर्सामा एक कार्यक्रममा बिमा योजना आरम्भ भएको थियो। कार्यक्रमअन्तरगत गत आर्थिक वर्षमा ४ हजार ३ सय ७३ नवजात छोरीहरुको बिमा भइसकेको छ। त्यसैगरी ३ हजार १ सय १८ नयाँ फर्महरु भरिएका छन् जसको सबै प्रकृया पूरा भएर बिमाको रकम पठाउन मात्र बाँकी रहेको छ।
त्यसैगरी बिमा कार्यक्रम प्रभावकारी बनाउन स्थानीय तहमा सञ्चालित शिविरहरुमा पनि बिमा गरिएको थियो। हालसम्म करिब १५ हजार विमा गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। यसअघि बिमा गराइसकेका छोरीहरुले पनि बढाइएको रकमको सुविधा पाउने छन्।
प्रतिक्रिया दिनुहोस