काठमाडौं । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस संक्रमणका कारण जनवरी महीनामा नेपाल घुम्न आउने चिनियाँ पर्यटकको आगमनमा प्रभाव पारेको छ । नेपाल आउने चिनियाँ पर्यटकको कुल संख्याको झन्डै ४० प्रतिशत जनवरीदेखि अप्रिलसम्मको ४ महीनामा आउने गरेका छन् । तर, सन् २०२० को शुरुआती महीनामै चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपाल आउने चिनियाँ पर्यटकको संख्या करीब १३ प्रतिशतले घटेको छ ।
अध्यागमन विभागको तथ्यांकअनुसार जनवरीमा चिनियाँ पर्यटकको आगमन घटेर झन्डै १२ हजारको आसपासमा सीमित देखिएको छ, जबकि यो संख्या सन् २०१९ को जनवरीमा १३ हजार ६८७ रहेको थियो । सन् २०१६ देखिको तथ्यांक हेर्दा जनवरी महीनामा आउने चिनियाँ पर्यटकको संख्या क्रमिक रूपमा बढेको देखिन्छ । नेपालमा पर्यटक भित्रिने देशमध्ये चीन दोस्रो स्थानमा रहेको छ ।
पछिल्लो समय कोरोना भाइरस महामारीका रूपमा फैलिँदा चिनियाँ पर्यटकको आगमन घटेको पर्यटन व्यवसायीहरू बताउँछन् । नेपाल एड्भेन्चर टीमका प्रबन्ध निर्देशक जीवन थापा मगर नेपाल भ्रमणको प्याकेज बुक गरेका अधिकांश चिनियाँ पर्यटकले भ्रमण रद्द गरेको बताउँछन् । ‘अहिले अधिकांश ग्रूपले भ्रमण रद्द गरेका छन् । यसले नेपाल भ्रमण वर्ष २०२० लाई पनि नकारात्मक प्रभाव पार्ने सम्भावना छ,’ उनले बताए ।
पर्यटन व्यवसायीका अनुसार चीनबाट काठमाडौं उडान गर्दै आएका चिनियाँ वायुसेवा कम्पनीहरूले नेपालको उडान स्थगन गर्ने क्रम बढेको छ । एयर चाइनाले मंगलवारपछिका २४ ओटा उडान स्थगन गरेको छ ।
त्यस्तै, चाइना साउदर्न एयरलाइन्सले माघ १९ देखि १ सातासम्म उडान स्थगन गर्ने बताइएको छ भने तिब्बत एयरलाइन्सले माघ १८ पछिका उडानहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । अहिले चीनका ५ विमान कम्पनीले नेपालमा उडान गर्दै आएका छन् ।
यसअघि नै नेपालको निजीक्षेत्रको हिमालय एयरलाइन्सले तत्कालका लागि चीनका तीन शहरमा आफ्नो उडान स्थगित गरेको छ । हिमालयले तत्कालका लागि चाङसा, कुइयाङ र शन्चेन उडान स्थगित गरेको छ ।
नेपालका पर्यटन व्यवसायीहरूले सन् २०२० मा चिनियाँ पर्यटक आगमनमा ठूलो वृद्धि हुने अपेक्षा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस