काठमाडौं । वशिष्ठ भलना:- नेपाली भाषा/साहित्यको क्षेत्रमा कलम चलाउने पत्रकार अग्निचक्र राष्ट्रिय मासिकका सम्पादक प्रकाशक लक्ष्मी नारायण भट्टराईले सम्पादन गरेको वरिष्ठ राजनीतिज्ञ स्व. दिलबहादुर श्रेष्ठको ३४० पेजमा समेटिएको स्मृतिग्रन्थ विमोचनको पर्खाइमा रहेको कुरा सानेबाबुका परिवारजनले जनाएका छन् । बीपी र महेन्द्रका प्रियमित्र शेरे सुनसरी भनेर चिनिने वरिष्ठ राजनीतिज्ञ सानेबाबुको डायरीमा आधारित स्मृतिग्रन्थ एकैदिन इनरुवामा सानेबाबु र उहाँका पिताको सालिक उद्घाटनसंगै बिमोचन गरिने भएकाले पुस्तक तयार भएर पनि सार्वजनिक नगरिएको रहेछ ।
स्मृतिग्रन्थमा दिलबहादुर श्रेष्ठका सबैजसो सन्तान तथा आफन्तजनले सानेबाबु संगको सम्झनाबारे कलम चलाएका छन् । २ छोराहरु सिनेट श्रेष्ठ(पूर्व मन्त्री), क्याबिनेट श्रेष्ठ(युवा व्यवसायी), कान्छी बुहारी सुजन वैद्य श्रेष्ठ, छोरीहरुः विणा, सपना, चुनाव, कन्चन, निलम, सीमा एवं वरिष्ठ साहित्यकारहरुले पनि दिलबहादुरको योगदानको सम्मान स्वरुप आफ्ना धारणा कविता र रचना मार्फत् स्मृतिग्रन्थमा व्यक्त गरेका छन् ।
त्यस्तै गरेर पूर्व प्रधानमन्त्रीहरु,मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, सानेबाबुका सुनसरीका बिभिन्न क्षेत्रका व्याक्त्तित्वहरुले समेत सानेबाबुसंगको सम्झनाबारे आफ्ना विचारहरु लेखेका छन् । यो पुस्तक अध्ययन गर्दा सानेबाबुले आफ्नो जीवन कालमा लेखि छाड्नु भएका डायरीलाई पत्रकार एल.एन. भट्टराईले संकलन/सम्पादन गरि बडो मिहेनत साथ स्मृतिग्रन्थमा समेटेको देखिन्छ ।
जीवनी, पदमा हुँदा गरेका कामहरु, सुनसरी जिल्ला कायम गर्दाका कुराहरु, कोशी कटान, राणा शासन विरुद्ध गरेका आन्दोलन, बिपीसंगका संस्मरणहरु, कोशी मोर्चा, काम गर्ने टेक्निक, सिकारी जीवन, माँ वैष्णवी देवी, सुख-शान्तिको बाटो लगायत सुनसरी जिल्ला र सम्झनामा रहेका सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुराहरु पुस्तकमा समेटिएका छन् ।
सानेबाबु-दिलबहादुर श्रेष्ठ बारेको विश्वकोश नै भन्नु पर्छ यो स्मृतिग्रन्थलाई । वर्तमान राष्ट्रपतिको शुभकामना, प्रधानमन्त्रीको शुभकामना, सानेबाबु-दिलबहादुर श्रेष्ठबारे बीपी कोइरालाको (आत्मवृत्तान्तबाट) धारणा, स्वर्गीय भैसकेपछि दैनिक पत्रिकामा प्रकाशित भएका उहाँको आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना र जीवनकालका महत्वपूर्ण फोटोहरु समेत पुस्तकमा समेटिएका छन् ।
जम्मा ३४० पेजमा समेटिएको यो स्मृतिग्रन्थले नेपाली समाजलाई धेरै ठूलो सन्देश दिएको कुरा पुस्तक नियाल्दा थाहा हुन्छ । त्यसैले गर्दा आर्थिक न्युज डटकमले सम्पूर्ण नेपालीहरुले यो पुस्तक पढी ७५ वर्षअघि देखिको नेपालको राजनीतिक-सामाजिक वास्तविकता थाहा पाउन भनी यो पुस्तकको ३४० पेजमा समेटिएको डिजिटल पीडीएफ कपि यहाँ राखेका छौं ।
कृपया यहाँ क्लिक गरि पुस्तकका सबै पेजहरु पढ्नुहोला ।
प्रतिक्रिया दिनुहोस