aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

बन्ने भयो ३ महिनाभित्रै बागमति ब्युटिफिकेसन

  • प्रजिता पाैडेल
    प्रजिता पाैडेल
  • सोमबार, २० माघ २०७६
बन्ने भयो ३ महिनाभित्रै बागमति ब्युटिफिकेसन

काठमाडौं । बागमति एकिकृत सभ्यता समाजले अबको ३ महिनामा बागमति ब्युटिफिकेसनको काम सम्पन्न गर्ने भएको छ । सन् २०१९ भित्रै बागमति ब्युटीफिकेसनको काम सक्ने भन्दै तात्तिएको आयोजक पक्ष विभिन्न झमेलामा परेका कारण समयमा नै काम सम्पन्न हुन नसकी १० महिना पछि पुनः काम सुचारू भएको हो । 

जग्गाको मुआब्जा सम्बन्धि बिबाद नमिल्दा १० महिनादेखि काम ठप्प भएको थियो । गोकर्ण देखि तिलगंगासम्म बागमति ब्युटिफिकेशन निर्माणको लागि भौतिक पूर्वाधारको काम लगभग सकिसके पनि जग्गा धनीले मुआब्जा नदिएसम्म रंग रोगन गर्न नदिने अडान लिएपछि काम ठप्प भएको थियो  ।

संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिलले वागमती कोरिडोर अन्तर्गत पर्ने जग्गा पीडितको छानविन गरी मुआब्जा वितरण गर्न सरकारलाई निर्देशन दिएपछि उक्त काम सुचारू भएको हो । 

वास्तविक पीडित जसको हातमा लालपुर्जा छ र सरकारलाई तिरो तिर्दै आएको छ, उसलाई क्षतिपूर्ति तथा मुआब्जा दिन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

गोकर्णदेखि गुह्वेश्वरीसम्मको ८ किलोमिटरमा मुआव्जा समस्याले काम अघि बढ्न सकेको थिएन । बागमती किनारमा व्यक्तिका नाममा रहेको झन्डै १८८ रोपनी जग्गाको क्षतिपूर्ति नपाएको भन्दै पीडितले लामो समयदेखि उक्त खण्डको काम गर्न दिएका थिएनन् । उनीहरु निरन्तर धर्ना र आन्दोलन गरेर जग्गाको क्षतिपूर्ति माग गर्दै आएका थिए । 

पूर्वाधारको सम्पूर्ण काम रेलिङ राख्ने, ढलान गर्ने, काम सकिएको छ । तर नारायणटारको पूल छेउ देखि गुहेश्वरी सम्म जग्गाको मुआब्जा सम्बन्धि विवाद नमिल्दा सोचेको जस्तो सिगारपटार गरी ब्युटीफिकेशन बागमति बनाउन नसकेको बागमति सभ्यता एकीकृतका सि.डि .ई योगेन्द्र चित्रकारले बताए । 

बागमतिको किनारमा गोकर्ण देखि तिलगंगा सम्म ब्युटिफिकेशन बनाएर आन्तारिक वा बाह्य पर्यटकलाई समेत लोभ्याउने योजना बागमति सभ्यता एकीकृत समाजको रहेको छ । 

चित्रकारले भने ‘अब काम सुरू भएको छ कुनै बाधा आएन भने ३ महिनामा काम सम्पन्न गरी हामीले सोचेको जस्तो बागमति बनाउने छौ’ ।
एडीबीको १ अर्ब ९० करोड रुपैयाँ सहयोगमा बागमती आयोजना अघि बढाएपनि हालसम्म उक्त परियोजना पूरा हुन सकेको छैन् ।  आयोजनाको ठेक्का कालिका कन्ट्रक्सन कम्पनीले लिएको थियो ।

हाल उक्त कम्पनीको ठेक्का अवधि सकिएर सन् २०२० फ्रेब्रुअरी सम्मका लागि म्याद थप गरिएको आयोजनाले जनाएको छ । अझै २५ प्रतिशत काम भने बाँकी रहेको आयोजना पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस