काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा विक्री मूल्य घटाएको छ । निगमले सोमवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको प्रतिलिटर १ रुपैयाँले घटाएको हो ।
निगमका अनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर रू. १११ बाट घटाएर ११० कायम गरिएको छ । साथै, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रू. १०० बाट घटाएर ९९ रुपैयाँ कायम गरिएको छ ।
निगमले एलपी ग्यासको मूल्य भने सिलिन्डरमा २५ रुपैयाँ बढाएको छ । निगमले एलपी ग्यासको मूल्य १ हजार ३५० बाट बढाएर १ हजार ३७५ पुर्याएको हो । यद्यपि हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ ।
निगमले इन्डियन आयल कर्पाेरेशनले फेबु्रअरी १ तारिखमा पठाएको मूल्यअनुरूप यी पदार्थको मूल्य समायोजन गरेको हो । मूल्य समायोजन गरेपछि वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको मूल्य प्रतिलिटर १६ रुपैयाँ ४० पैसाले सस्तो भएको छ । साथै, डिजेलको मूल्य पनि १६ रुपैयाँ २७ पैसा सस्तो भएको निगमले बताएको छ ।
प्रतिक्रिया दिनुहोस