aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एमसीसी अध्ययन कार्यदलको बैठक : चार विषयमा अध्ययन गर्ने निर्णय

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • मंगलबार, २१ माघ २०७६
एमसीसी अध्ययन कार्यदलको बैठक : चार विषयमा अध्ययन गर्ने निर्णय

काठमाडौं। अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट पारित गर्ने विषयमा अध्ययन गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गठन गरेको कार्यदलले चार विषयमा अध्ययन गर्ने निर्णय गरेको छ । नेकपाले आइतबार गठन गरेको कार्यदलले सोमबारै बैठक बसेर काम सुरु गरेको हो ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित एमसीसीसम्बन्धी अध्ययन कार्यदलको बैठकले एमसीसीको विषयमा गहन छलफलका लागि चार विषयलाई केन्द्रमा राखेको कार्यदलका एक सदस्यले बताए ।
‘हामीले छलफल सुरु गरेका छौं,’ उनले भने, ‘एमसीसीका विषयमा शंका–उपशंका उत्पन्न भइरहेको विषयलाई समाधान खोज्ने पहल गरिएको छ ।’ कार्यदलले आफूले पाएको समयावधिमै प्रतिवेदन बुझाउने गरी काम सुरु गरेको हो । बैठकमा संयोजक झलनाथ खनाल र सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवालीको सर्वसम्मतबाट चार विषयमा अध्ययन गर्ने टुंगो लागेको स्रोतले जनायो ।

कार्यदलले एमसीसी के हो ? एमसीसीले नेपालमा गर्न खोजेको के हो ? एमसीसी सम्झौता हो कि सन्धि ? र, यो राष्ट्रिय हितअनुकूल छ कि छैन ? यस्ता विषयमा छलफल गर्ने भएको छ । कार्यदलले आवश्यकताअनुसार कार्यदलमा विज्ञहरूलाई सहभागी गराई चार विषयमा अध्ययन गर्ने सहमति गरेको कार्यदलका एक नेताले बताए ।
स्रोतका अनुसार पार्टीभित्र विवाद उत्पन्न भइरहेको समयमा यी विषयबाट आउने निजोडले एमसीसीका विषयमा स्पष्ट पार्ने विश्वास गरिएको छ । पार्टीको केन्द्रीय समिति बैठकमा पक्ष र विपक्षमा विचारहरू आइरहँदा सचिवालयले अध्ययन गर्न पार्टीका वरिष्ठ नेताको संयोजकत्वमा कार्यदल बनाएको हो ।

२९ मंसिरमा सुरु भई सात दिनसम्म चलेकोे नेकपा स्थायी कमिटीमा यसबारे तीव्र मत विभाजन देखिएपछि यसले अहिले राष्ट्रिय बहसको रूप लिएको छ । स्थायी समिति टुंगोमा पुग्न नसकेपछि यसबारे अन्तिम निर्णय लिने अधिकार सचिवालयलाई दिइएको थियो । अधिकांश शीर्ष नेतृत्व रहेको नेकपाको ९ सदस्यीय सचिवालयमा बहुमत सदस्य अहिलेकै स्वरूपमा एमसीसी पारित नगर्ने पक्षमा छन् । एमसीसीका मुख्य तीन कुरालाई लिएर अहिले विवाद उब्जिएको छ । पहिलो, हिन्द र प्रशान्त महासागर क्षेत्र र त्यसको आसपास लक्षित गरी अमेरिकाले अघि सारेको इन्डोप्यासेफिक स्ट्राटेजी (आईपीएस)अन्तर्गत एमसीसी हो कि होइन ?
दोस्रो, यसलाई संसद्बाटै अनुमोदन किन गर्नुपर्ने ? र, तेस्रो, एमसीसी सम्झौता लागू गर्दा भारतको पनि सहमति चाहिने कुरा किन उल्लेख गरियो ? एमसीसीबारे नेकपाभित्र प्रस्ट दुई धार छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरू एमसीसी अनुमोदनको पक्षमा छन् । तर, ओली खेमाबाहेकका नेताहरू भने यसलाई अहिलेकै सर्त स्वीकार गरेर पारित गर्न नहुने पक्षमा छन् । एमसीसीअन्तर्गत नेपालले विद्युत् विस्तार र सडकमा ५५ अर्ब रुपैयाँबराबरको सहयोग प्राप्त गर्ने गरी भएको सम्झौतालाई लिएर नेकपाभित्र विवाद छ । यही विवादका कारण मन्त्रिपरिषद्ले पारित गरिसकेको एमसीसी कम्प्याक्ट संसद्मा पेस हुन सकेको छैन ।

एमसीसीको अध्ययन गर्ने तीन सदस्यीय समितिमा दुईजना एमसीसीका आलोचक र एकजना मात्र पक्षधर रहेकाले समितिले कस्तो निष्कर्ष प्रस्तुत गर्ला भन्ने विषयमा अहिले नै बताउन सकिने स्थिति छैन । कार्यदलका संयोजक खनाल र सदस्य रावलले यसअघि एमसीसीको आलोचना गर्दै आइरहेका छन् । तर, परराष्ट्रमन्त्री ज्ञवाली यो पारित हुनुपर्छ भन्ने पक्षमा छन् । एमसीसीबारे अध्ययन गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बनाएको कार्यदलको पहिलो बैठक सोमबार बसेको हो । कार्यदललाई १० दिनको समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस