लुम्बिनी । विश्वकै शान्ति क्षेत्र लुम्बिनी जाने बाटोको अवस्था नाजुक भएको छ । सरकारले भ्रमण वर्ष घोषणा गरिरहँदा भैरहवा–लुम्बिनी सडक खण्ड बेवास्ता गर्दा धुलाम्य अवस्थामा छ ।
भैरहवा लुम्बिनी सडक निर्माणको ठेक्का भाएरको गाभर कम्पनीले ठेक्का पाएको बाटोको अवस्था पनि उस्तै छ । बाटो खन्ने र ग्राभेल बिछ्याउने काममात्र भएको छ । भैरहवा–लुम्बिनी सडक खण्ड धुलाम्य छ । साइकल वा मोटरसाइकलमा लुम्बिनी पुग्दा मान्छे नै नचिनिने अवस्था छ । लोकल गाडीसमेत चलाउन गाह्रो हुने सडकमा पर्यटक गाडी चलाउन झनै कठिन हुने गाडि चालकहरु बताउँछन् ।
भैरहवा र लुम्बिनीको बीचमा एकपटकमा एउटामात्र गाडी पास हुने दुईवटा पुल छन् । बेथरी पुलको अवस्था जीर्ण छ । एकतर्फीमात्र सवारी चल्ने भएकाले एक किल्लोमिटरसम्मको जाम लाग्ने गरेको बेथरीका प्रहरी जवान होमनाथ पौडले बताउँछन् । पुरानो पुल भएकोले कतिबेला भत्किने डर पनि रहेको छ, हाम्रो ड्युटी २४ सै घण्टा हुन्छ । घाममा धुलो पानी आउँदा हिलोले समस्या पारेको पौडले बताउँछन् ।
लुम्बिनी पुग्ने सडक र पुल स्तरोन्नति गर्न तीनै तहका सरकारको ध्यान पुगेको छैन । लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्ने भन्दै प्रदेश ५ सरकारले करोडौं खर्चेर ०७६ लाई लुम्बिनी भ्रमण वर्षका रूपमा मनाइरहँदा सडकबारे अलिकति पनि चासो देखिँदैन । जीर्ण सडक र बीचमै निर्माणकार्य स्थगित भई लथालिंग रहेका दुईवटा पुलले २० लाख पर्यटक भित्र्याउने गरी सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत गिज्याइरहेको यात्रु बताउँछन् ।
निर्माणाधीन सडक चाँडो सम्पन्न गर्न सहजीकरणसहितको दायित्व वहन, ठेकेदार तथा आयोजनालाई पहलकदमी, तत्काललाई बेलीब्रिज, स्थायी पुल निर्माणका लागि गर्नुपर्ने टेन्डरजस्ता विषयलाई प्राथमिकतासाथ अघि बढाउनुपर्ने सरोकारवालाको सुझाव छ । लुम्बिनीको विकास र योजनाबारे तीनै तहका पदाधिकारीले गर्दै आएका भाषणको कार्यान्वयन पक्ष अति कमजोर रहेको समाजसेवी गोपाल बन्जाडे बताउँछन् ।
प्रतिक्रिया दिनुहोस