
एजेन्सी । यदी तपाईंले सडक किनारामा राखिएका ठेलामा पाइने खाद्यपदार्थ विशेषगरि मासुका परिकार खानुहुन्छ भन्ने ख्याल गर्नुहोला । त्यस्ता ठेलामा अखाद्य सामाग्रीको प्रयोग भएको हुनसक्छ ।
नेपालमा पनि पछिल्लो समय ठेलाको व्यापार फस्टाउँदै गएको छ । भारतमा ठेला व्यापारीको घिनलाग्दो काम भेटिएको छ । कुखुराको मासुको नाममा कौवाको मासु बेचिएको पाइएको हो ।
भारतको तामिलनाडुस्थित रामेश्वरममा यस्तै एक घटना फेला परेको छ । सडक किनाराको एक ठेलामा जब खाद्य विभागले छापा मार्यो तब सरकारी अधिकारीहरु हैरान भए ।
ठेलामा सस्तोमा विकिरहेको चिकेन अर्थात कुखुराको मासु नभएर कौवाको भएको फेला परेको थियो ।
कुखुराको मासुको नाममा कौवाको मासु बेच्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुको साथबाट १५० वटा मरेका कौवासमेत फेला पारिएको थियो ।
प्रहरीका अनुसार चिकेनको नाममा कौवा बेचेको आशंका रामेश्वरम मन्दिरमा आएकाहरुले गरेका थिए । हरेक दिन कौवालाई चारा खुवाउने केही श्रद्धालुले केही दिन यता केही मरेका कौवा फेला पारेका थिए ।
उनीहरुले कसैले कौवालाई मारिरहेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले अनुसन्धानपछि केही व्यक्तिले विषालु चामल चाराको रुपमा दिएर कौवालाई मार्ने गरेको तथ्य फेला पारेको थियो ।
जब प्रहरीले कौवाको मासु बेच्नेसँग सोधपुछ गर्यो त्यसपछि उनीहरुले मारिएका कौवा साना पसलेहरुलाई बेचिएको र उनीहरुले चिकेन बिरयानी, चिकेन ललिपप भनेर बेचिरहेको र उनीहरुको कमाइ राम्रो रहेको बताएका थिए ।
यसअघि भारतकै मुम्बइ, कोलकता र चेन्नाइमा सन् २०१८ मा खाद्य विभागले छापा मारी कुकुर र विरालोको मासु बेचेको आरोपमा केहीलाई पक्राउ समेत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस