aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

‘पैसाको मुठो आएपछि सुनको औँठी लगाएँ’

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • बुधबार, २२ माघ २०७६
‘पैसाको मुठो आएपछि सुनको औँठी लगाएँ’

चालीस वर्षअघि तनहुँका हेमबहादुर झेडीमगर ३१ वर्षका थिए। सानै थिए छोराछोरी। गाउँले साथीभाइ धेरैजसो लाहुरतिरै थिए। कोही साथी पोखरा थिए त कोही तराईका जङ्गल फाँड्न झरेका थिए।

साथीभाइले हेमबहादुरलाई पनि उक्साउँथे, कति दुःख बेसाउने हो गाउँमा? खै किन हो, हेमबहादुर गाउँमै रमाए। हेमबहादुरले सोचे, गाउँमै केही नगरी भएन । त्यसपछि दमौली झरेर हेमबहादुरले एक हजार मिटर जति पाइप खरिद गरे। भारी कसेर लागे उकालो। जसोतसो पाइप जोडजाड गरेर बारीका कान्लामा पानी झारिछाडे।

त्यसपछिका दिनमा तरकारी र फलफूल खेतीमा दैनिकी बिताउँदै आएका हेमबहादुर माघ १९ गते ऋषिङ गाउँपालिका भवन कोटदरबारअगाडि काउली जोख्दै गरेका भेटिए। किलोको ७० रुपियाँमा काउली बेच्दै गर्दा भेटिनुभएका हेमबहादुरले भन्नुभयो, ‘के गर्ने हजुर, यस्तै कर्म जानियो, दुःखिया काम।’

गाउँपालिकामा कामविशेषले आउने सेवाग्राही र कर्मचारीले हारालुछ गरी हेमबहादुरको तरकारी खरिद गरे। एकैछिनमा डोको रित्तियो । हेमबहादुर गफिन रुचाए।

‘माछा पनि पालेको छु हजुर,’ उनले भने, सानो पोखरी छ, ग्रासकार्प र कमनकार्प राखेको छु । १५ वर्ष भयो । गाउँमै बिक्छ माछा । किलोको चार सय रुपियाँमा बेच्छु।’

उनको घरमा १५ घार माहुरी पनि छ। उनले गत वर्ष खैरेनीटार पु¥याएर ८० हजार रुपियाँको मह बेचेको कथा पनि सुनाए। ठिक्क कदका हेमबहादुरको मुजा परेको मुहार खुलेको थियो।

उनले हँसिलो पाराले भने, ‘मह बेचेर ८० हजार रुपियाँको मुठो आएपछि एक तोलाको औँठी किनेर लगाएँ।’ ऋषिङ गाउँपालिका-६ को काफलडाँडाका हेमबहादुरका पाँच छोरी सबैको घरबार भइसक्यो । जेठो छोरो विदेश, कान्छो स्थानीय विद्यालयमा नौ कक्षा पढ्दै छन्।

विदेशबाट फर्केर गाउँमै फलफूल र तरकारी खेती गर्छु भनेर छोराले ढाडस दिएकाले खेती धानिएला भन्ने विश्वास पलाएको छ, हेमबहादुरलाई । उहाँले भने, ‘अब धेरै काम गर्न सकिन्न, छोराले साथ दिए खेती अझै बढाउँछु।’

प्रतिक्रिया दिनुहोस