aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सरकारी खर्च खुम्चिदा लक्ष्यअनुसार आर्थिक वृद्धि नहुने संकेत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ बैशाख २०७६
सरकारी खर्च खुम्चिदा लक्ष्यअनुसार आर्थिक वृद्धि नहुने संकेत

काठमाडौं, वैशाख २९  । विकास निर्माणका लागि छुट्टाएको रकम सरकारले गर्ने खर्च गर्न नसक्दा आर्थिक वृद्धिदर खुम्चिने भएको छ । चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने अनुमान गरेको थियो । तर, विकास निर्माणका लागि समेत छ्ट्याइएको रकम खर्च नहुँदा, खाद्यान्न उत्पादनमा कमी लगायतका कारणले आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा पनि तल झर्ने अनुमान गर्न थालिएको छ ।

अहिलेसम्म पनि सरकारी खर्च ५० प्रतिशत पनि नपुग्दा आर्थिक वृद्धिदर लक्ष्य अनुसार नहुने र त्योभन्दा खुम्चिने सम्भावना बढेको विज्ञहरुको भनाइ छ । केही दिनअघि अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभामा आगामी वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै यो वर्ष ७ प्रतिशतले आर्थिक वृद्धि हुने बताएका थिए । 

त्यस अघिमात्र केन्द्रीय तथ्यांक विभागले यो वर्षको आर्थिक वृद्धि ६.८१ प्रतिशतले हुने बताएको थियो । तर, खतिवडाले भनेजति ७ प्रतिशत पनि आर्थिक वृद्धिदर नहुने बिज्ञको भनाइ छ । उनीहरुले ६ देखि ६.५ प्रतिशतको आर्थिकवृद्धि हुने अनुमान गरेका छन् । 

मुलुकको अर्थतन्त्र निरन्तररुपमा खस्किएको छ । सरकारले लक्ष्यअुनसार बजेटरी खर्च हुन सकेको छैन । मुलुकको शोधनान्तर घाटा अत्याधिकरुपमा बढ्दै गएको छ । यतिमात्र होइन निकासी–पैठारी व्यापारबीचको असन्तुलन झनै चर्किएको छ । 

पुँजी बजारको परिसूचक तल झरेको छ । मुलुकका प्रमूख सवै परिसूचक ओरालो लागेको अवस्था छ । यी आर्थिक सूचकले पनि आर्थिक वृद्धिदर लक्ष्यअनुसार नहुने प्रष्ट भइसकेको छ ।

राष्ट्रिय योजना आयोगले यसअघि अर्थ मन्त्रालयलाई पठाएको प्रतिवेदनमा लक्ष्य अनुसार आर्थिक वृद्धि हासिल नहुने उल्लेख गरेको छ । 

योजना आयोगले अर्थतन्त्र कमजोर बनेका केही उदाहरण प्रस्तुत गर्दै आर्थिक वृद्धिदर ८ प्रतिशत नपुग्ने प्रतिवेदन अर्थ मन्त्रलयलाई पठाएको हो । राष्ट्रिय योजना आयोगका अनुसार चालू आर्थिक वर्षमा लक्ष्यभन्दा १ दशमलव १.१९ प्रतिशतले कम भई आर्थिक वृद्धिदर ६ दशमलव ८१ प्रतिशतमा सीमित हुने प्रारम्भिक अनुमान छ । 

आयोगले अहिले सरकारी खर्च न्यून हुने, कृषि उत्पादनलाई आधार मानी पूर्व अनुमान गरेको हो । तर, अर्थमन्त्री खतिवडाले भने आयोगले अनुमान गरेको भन्दा बढी आर्थिक वृद्धि बढी हुने ठोकुवा गरेका छन् । सरकारी खर्च वर्षको अन्त्यमा बढने, निजी क्षेत्रको लगानी, मौसम, तथा कृषि क्षेत्रबाट हुने उत्पादनले आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने सम्भावना भएको अर्थ मन्त्रालयको भनाइ छ । 

चालू आर्थिक वर्षमा धान उत्पादन राम्रो भएको, माघ महिनामा पानी परेका कारण गहुँ पनि राम्रो उत्पादन हुने सम्भावना भएकाले पनि आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

आयोग र मन्त्रालयबीच नै आर्थिक वृद्धि कति हुने भन्ने बारेमा मत बाझिएको छ ।  तर, पनि अहिलेसम्मको अवस्था हेर्दा ६.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर नहुने योजना आयोगका एक उच्च अधिकारीले बताए ।
 
 

प्रतिक्रिया दिनुहोस