aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

जुटखेती खुम्चँदा उद्योगहरूमा परनिर्भरता बढ्दै

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • विहीबार, २३ माघ २०७६
जुटखेती खुम्चँदा उद्योगहरूमा परनिर्भरता बढ्दै

विराटनगर । सरकारले जुटबालीलाई प्रोत्साहन नगर्दा वर्षेनि जुटको उत्पादन घटिरहेको छ भने अर्काेतिर सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेका जुट उद्योग कच्चा जुटका लागि भारत र बंगलादेशसँग निर्भर छन् । 

सरकारले जुटबालीका लागि दिइरहेको अनुदान दशक अघिदेखि नै बन्द गरेपछि सुनसरी मोरङका उद्योगहरू भारत र बंगलादेशसँग आश्रित हुन पुगेका हुन् । नेपाली उत्पादन घटेसँगै वार्षिक रूपमा ४ अर्बको कच्चा जुट उद्योगहरूले आयात गर्न थालेका हुन् । 

उत्पादन लागत घट्न नसक्दा बन्द हुन थालेका जुट उद्योगलाई स्थानीय उत्पादनले धान्न सके उद्योगहरू पुनः सञ्चालनमा आउने र वार्षिक करीब १५ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा कम हुने उद्योगीहरू बताउँछन् । अहिले भारत र बंगलादेशबाट आयात गरिएको कच्चा जुटबाट तयार गरिएको सामग्रीले भारतमै उत्पादित सस्ता वस्तुसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता रहेको छ । 

नेपाल जुट उद्योग संघका उपाध्यक्ष रमेश राठी झापा, मोरङ र सुनसरीमा उत्पादित जुट ३ दशक अघिसम्म विश्वकै उत्कृष्ट जुटका रूपमा यूरोपसम्म पुगेको विगत सम्झन्छन् । ‘नेपालबाट कच्चा जुट नै यूरोप जान्थ्यो । अहिले सरकारले किसानलाई सबै खाले अनुदान बन्द गरिदिएपछि नेपालकै उद्योगलाई चाहिने ८० प्रतिशत जुट भारत र बंगलादेशबाट आपूर्ति भइरहेको छ,’ उनले बताए । किसानलाई सहुलियत दिएर जुटमा आत्मनिर्भर बन्न र खाद्यान्नको प्याकिङमा जुटको बोराको अनिवार्य प्रयोग गर्न सरकारलाई पटक पटक ध्यानाकर्षण गराएको उपाध्यक्ष राठीले बताए । उनले भने, ‘कृषि मन्त्रालयलाई हामीले एउटा बोर्ड गठन गरेर जुटको उत्पादन पहिलाकै स्तरमा पुर्‍याउन अनुरोधसमेत गर्‍यौं । तर, त्यसमा खासै प्रगति हुन सकेन,’ उनले बताए । 

किसानले मल, बीउ र पोखरीमा अनुदान पाउन छाडेपछि झापा, मोरङ र सुनसरीका ५६ हजार हेक्टरमा हुँदै आएको जुटखेती ११ हजार हेक्टरमा सीमित भएको जुट अनुसन्धान केन्द्र इटहरीका प्रमुख डा. गोविन्दप्रसाद तिम्सिना बताउँछन् ।

अहिले जुटको वार्षिक उत्पादन २० हजार मेट्रिक टन छ जबकि सुनसरी मोरङमा अहिले चलिरहेका उद्योगहरूलाई वार्षिक ८० हजार मेट्रिक टन कच्चा जुटको आवश्यकता पर्छ । 

किसानले उत्पादन गरेको जुटको विक्री मूल्य सरकारले नतोकिदिनाले किसानहरूले अहिले लागतसमेत उठाउन सकिरहेका छैनन् । जतिबेला नेपाली जुट बजारमा आउँछ त्यो बेला सबैभन्दा न्यून मूल्य कायम भएको हुन्छ । झापा गौरीगञ्जका किसान कमल कार्की लागत मूल्यको २५ प्रतिशत पनि नाफा नभए किसानले पुनः त्यही बालीको खेती गर्न सोच्न पनि नसक्ने बताउँछन् । 

प्रतिक्रिया दिनुहोस