aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

पर्यटनमा कोरोनाको असर : चिनियाँको विकल्प खोज्दै सरकार

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • विहीबार, २३ माघ २०७६
पर्यटनमा कोरोनाको असर : चिनियाँको विकल्प खोज्दै सरकार

काठमाडौं । छिमेकी चीनमा फैलिएको कोरोना भाइरस संक्रमणले पर्यटक आगमनमा असर पर्ने देखिएको छ। नेपाल भ्रमण २०२० मा चीनबाट पाँच लाख पर्यटक ल्याउने तयारी सरकारको छ।

कोरोना भाइरस संक्रमणका कारण लक्ष्यबमोजिम चिनियाँ पर्यटक आउन नसक्ने भएपछि सरकार अन्य विकल्पको खोजीमा लागेको छ। भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले कोरोना भाइरसको असर नेपालको पर्यटनमा देखिएको बताए। मन्त्री भट्टराईले बुधबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा मन्त्रालयले चिनियाँ पर्यटकको विकल्प खोजिरहेको जानकारी दिए।

‘कोरोना भाइरसले हाम्रो पर्यटनमा सबैभन्दा बढी असर पुर्‍याएको छ। चीनबाट गत वर्ष तीन लाख पर्यटक आएका थिए। यही आधारमा पर्यटक बढ्ने अपेक्षा थियो’, उनले भने, ‘अब त्यसको वैकल्पिक मार्केट खोज्न थालेका छौं। विदेशमा कसरी राम्रो सन्देश दिने भनेर काम गरिरहेका छौं।’

चीनको विकल्पमा पर्यटक भिœयाउन संस्कृति पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, नेपाल पर्यटन बोर्डका सीईओ र पर्यटन विभागका महानिर्देशकलाई फोकल पर्सन तोकिएको मन्त्री भट्टराईले बताए।

‘नेपाल कोरोना भाइरसको फ्री जोन हो। भोलिका दिनमा के हुन्छ भन्न सकिन्न। तर आजका दिनसम्म हामीसँग एकजना पनि कोरोनाको बिरामी छैन। यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न जरुरी छ’, उनले भने, ‘चिनियाँ राजदूतले समेत कोरोनालाई नियन्त्रण गरेर पुरानै अवस्थामा फर्किन्छौं भन्नुभएको छ।’

चीनबाहेक अन्य देशबाट नेपाल आउने पर्यटकमा समेत कोरोना भाइसरको त्रासका फैलिएको छ। विदेशी पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिन सके मात्र नेपाल भ्रमण वर्षको लक्ष्य पूरा हुने सुझाव सांसदहरूले दिएका छन्।

प्रतिक्रिया दिनुहोस