काठमाडाैं । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललितानिवास जग्गा हिनामिना प्रकरणमा चित्त नबुजेकाे प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जाल टुइटर मार्फत् अाफनाे असन्तुष्ट रहेकाे छनक दिएका हुन् ।
अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगले बुधबार ललितानिवास क्याम्पभित्रको ११४ रोपनी सरकारी, सार्वजनिक जग्गा कब्जा गरेर भ्रष्टाचार गरेको भन्दै ललिता निवास घोटलामा १ सय ७५ जनामाथि विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
उनले ट्वीट गर्दै लेखे ‘देशमा व्याप्त भ्रष्टाचाररूपी क्यान्सरको एउटा अंश ललितानिवास प्रकरणमा अदुनिआको प्रयत्न स्वागतयोग्य छ । तर प्रथमदृष्टिया यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ। हाम्रा ऐनकानून र राज्यसंयन्त्र परिणाममुखी भन्दा प्रक्रियामुखी बढी भएकाले यस्तो हुनसक्छ।मन्त्री दोषी तर प्रम निर्दोष देखिदा ..२।’
‘मन्त्री दोषी तर प्रम निर्दोष देखिँदा मैले पनि असहजता महसुस गरेको छु । सुर–असुर द्वन्द्वबाट निस्केको कालकुट विष पिएर शिवजी नीलकण्ठ बनेझैं देशलाई आवश्यक पर्छ भने म पनि नीलकण्ठ बन्न तयार छु । तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस्,’ भट्टराईले ट्विट गर्दै भनेका छन्, ‘जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्धले अघिदेखि फस्ने नहोस् ।’
मन्त्रिपरिषद्ले सामूहिक रूपमा गरेका निर्णयहरू आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको सन्दर्भमा पूर्वप्रधानमन्त्री भट्टराईको यस्तो प्रतिक्रिया आएको अड्कल गरिएकाे छ ।
प्रतिक्रिया दिनुहोस