aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

गच्छादारमाथि अख्तियारकाे मुद्दाले कांग्रेसमा राेइलाे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ माघ २०७६
गच्छादारमाथि अख्तियारकाे मुद्दाले कांग्रेसमा राेइलाे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा पार्टीका उपसभापति विजयकुमार गच्छादारमाथि अख्तियारले दायर गरेको मुद्दा राजनीतिक पूर्वाग्रह प्रेरित भएको निष्कर्ष निकालेको छ ।

विहीवार(आज) पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको नेपाली कांग्रेसको पदाधिकारीसहितका शीर्ष नेताहरुको बैठकपछि कांग्रेसले उपसभापति गच्छादारमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको निष्कर्ष निकालेको हो ।

गच्छादारमाथि मुद्दा प्रतिशोध पूर्ण र कांग्रेसमाथिको सुनियोजित आक्रमण रहेको निष्कर्ष बैठकले निकाले हो ।

बैठकमा सहभागी कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले भने ‘उपसभापति गच्छादारमाथिको मुद्दा प्रतिशोध पूर्ण र कांग्रेसमाथिको सुनियोजित आक्रमण भएको निष्कर्ष बैठकले निकालेको छ’ नेता कार्कीले भने,‘राजनीतिक प्रतिशोध भएका कारण देशव्यापी रुपमा युवा विद्यार्थीलाई यसविरुद्ध डटेर लाग्न आह्वान गर्ने निर्णय भएको छ ।’

तीन बजे भ्रातृसंस्थाहरुसँगको बैठक, सवा चार बजे पत्रकार सम्मेलन गर्दै कांग्रेसले धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति गच्छदार, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, मिनेन्द्र रिजाल, बालकृष्ण खाँण, पुष्पा भुषाल, ज्ञानेन्द्र कार्कीलगायत सहभागी भएको बैठकमा कांग्रेस निकटका कानून व्यवसायी समेत सहभागी थिए ।

छलफलमा कानून व्यवसायीहरु प्रेमबहादुर खड्का, गोपालकृष्ण घिमिरे, शेरबहादुर केसी, सीताराम केसी, योगेन्द्र अधिकारी, लीलामणि पौडेल र एकराज पोखरेलसमेत सहभागी रहेकाे स्राेतले बतायाे ।

प्रतिक्रिया दिनुहोस